STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । 
सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । 
जिल्लाका अन्य स्थानीय तहमा रोजगार सेवा केन्द्रले बेरोजगार युवाको तथ्याङ्क वडा–वडाबाटै सङ्कलन गरिसकेको भए पनि व्यास नगरपालिकामा भने तथ्याङ्क सङ्कलन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो । वाग्लेका अनुसार मन्त्रालयले रोजगार सेवा केन्द्र प्रमुख नपठाइ दिएकाले तथ्याङ्क सङ्कलनको कार्यलाई अगाडि बढाउन सकिएको छैन ।
सूचना अधिकारी वाग्लेले भन्नुभयो, “यसबारेमा मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, छिटो मान्छे पठाइदिए कामलाई तीव्रता दिन सजिलो हुन्थ्यो ।” तथ्याङ्क सङ्कलनपछि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा बेरोजगारलाई खटाउने तयारी गरिएपनि तथ्याङ्क सङ्कलनको काम नै शुरु नहुँदा चालू आर्थिक वर्षमा प्राप्त बजेट नै फ्रिज हुने हो की भन्ने आशंका उत्पन्न भएको वाग्लेले बताउनुभयो । 
चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा रु पाँच लाख ७५ हजार बजेट प्राप्त भएको छ । बजेट फ्रिज हुने सम्भावना भएपछि नगर कार्यपालिकाकाको केही दिन अघि बसेको बैठकले वडा सचिवमार्फत नै तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।
व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रोजगार संयोजक नियुक्ति नहुँदा काममा देखिएको ढिलाइले यहाँका युवा प्रभावित भएको उल्लेख गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि प्रायः सधैँ नै युवा वडा कार्यालयमा आउने गरेको जानकारी दिनुभयो । 
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा लोकनाथ भुषालले व्यास नगरपालिकामा नियुक्त भएको रोजगार संयोजकले राजिनामा दिएका कारण केही ढिलाइ हुन गएको बताउँदै वैकल्पिकमा रहनुभएका सुजिता थापालाई रोजगार संयोजकको रुपमा खटाइसकिएको जानकारी दिनुभयो ।
मन्त्रालयले जेठ २० गते थापालाई सम्झौता गरी व्यास नगरपालिकामा खटाइसकेकाले एक÷दुई दिनभित्रै हाजिरी भएर उहाँले काम शुरु गर्ने डा भुषालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय