STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १३, शुक्रबार

कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताउनुभयो । “मेरो बुबाआमा छैनन्, बूढा बाजेबज्जैको साथमा बसेको छु, खान लाउनकै समस्या छ, कसरी कापी किताब जुटाउनु रु”, उहाँले भन्नुभयो, “बुबाआमा बितेको याद पनि छैन, मलाई अध्ययनका लागि आवश्यक पूर्वाधार जुटाइदिने मानिस भए राम्रो पढ्थे होला ।” कैलालीको लम्कीचुहाकी १३ वर्षीया सङ्क्रमित एक बालिकालाई पनि पढ्नका लागि आवश्यक कापी किताबकै समस्या हुन्छ । “विद्यालयमा मासिक शुल्क तिर्नु पर्दैन, तर परीक्षा शुल्क तिर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “कापी किताब, कलम, झोला, कपडाजस्ता धेरै सामान चाहिन्छ, यी सामानका लागि वार्षिक रु चारदेखि पाँच हजारसम्म खर्च हुन्छ, हामीजस्ता अभिभावक नभएका बालबालिकाले कसरी जुटाउनु रु” टीकापुरको धनसिंहपुरका ११ वर्षीय अर्का बालकलाई जहिले पनि विद्यालय जाँदा साथीले जिस्काउँछन् । उहाँसँग नत नयाँ किताब हुन्छ, नत राम्रो लुगा । कक्षा ४ मा पढ्ने उहाँलाई साथीले गर्ने दुव्र्यवहारले विद्यालय जान मन लाग्दैन । “मसँग कहिलेकाहीँ नोट कापी पनि हुन्न, साथीहरु कक्षामा हासेर उडाउँछन्”, उहाँले भन्नुभयो, “त्यसैले म नियमित विद्यालय जान्न, आमालाई धेरै कुरा भन्न पनि सक्दिन ।” उहाँ एक वर्षको हुँदा बुबाको निधन भयो । आमा पनि सङ्क्रमित हुनुहुन्छ । तीन भाइबहिनी रहेका उहाँ कान्छो सन्तान हुनुहुन्छ । सङ्क्रमित भएका कारण आमाले पनि खासै काम गर्न सक्नुहुन्न । “तीन बालबच्चा हुर्काउन मलाई निकै कठिन छ, श्रीमान्को उपचार गर्दा भएको सम्पत्ती पनि सकियो”, उहाँकी आमाले भन्नुभयो, “म धेरै काम गर्न पनि सक्दिन, केटाकेटीलाई भात खुवाउनै मुश्लिक छ, कसरी पढ्ने वातावरण मिलाउनु ।” एचआइभी सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाज टीकापुरका अध्यक्ष जगत भण्डारीका अनुसार टीकापुरमा मात्रै एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमति २२ जना बालबालिका छन् । संक्रमित बालबालिकाको शैक्षिक विकासमा समस्या छ । “धेरै बालबालिका नियमित विद्यालय जान नसक्ने, आवश्यक कापी कलम जुटाउन नसक्ने समस्या छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले हरेक विद्यालयमा निःशुल्क शिक्षाका लागि पहल गरेर निशुल्क गराएका छौँ, तर कापी किताब, झोला, पोशाक त चाहिन्छ नि ।” सङ्क्रमित बालबालिकाको शिक्षामा सहयोगका लागि एकता समाजले टीकापुरका तीन होटलमा दान पेटिका राखेको छ । दान पेटिकामा सङ्कलन भएको रकम अतिविपन्न बालबालिकालाई आवश्यक कापीकलम दिइन्छ । उहाँले भन्नुभयो, “यस वर्ष रु पाँच हजार सङ्कलन भएको थियो, चार बालबालिकालाई अध्ययनका लागि आवश्यक पर्ने झोला, डटपेन, पेन्सिल, नोटबुक, डिफिन बक्स वितरण ग¥यौँ ।” भण्डारीले पछिल्लो समय स्थानीय सरकार सङ्क्रमितका समस्याबारे गम्भीर बन्दै गएको बताउनुभयो । सङ्क्रमितको उपचार सहजताका लागि स्थानीय सरकारले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिदिएको छ । गत वर्ष टीकापुर नगरपालिकाले पोषणका लागि प्रतिव्यक्ति रु पाँच हजारसमेत उपलब्ध गराएको थियो । त्यस्तै लम्की चुहाले पनि सङ्क्रमतिको पोषणका लागि वर्षेनी बजेट विनियोजन गर्ने गरेकोे छ । यस क्षेत्रका सङ्क्रमित सङ्गठित हुन थालेका छन् । बाल कल्याण सङ्घ टीकापुरको सहयोगपछि सङ्क्रमितले मासिक बचतसमेत गर्ने गरेका छन् । टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरमा ४८३ सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन् । जसमा करीब ३०० महिला छन् ।
Categorized in राष्ट्रिय