STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाजवादी मोर्चा गठन गर्न प्रचण्ड र माधव तयार

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १०, आइतबार

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार नेकपा (एकीकृत समाजवादी)द्वारा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन ः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। अहिले हामी त्यही प्रक्रियामा छौँ। जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन्। हामी अहिले पनि एकताकै पक्षमा छौँ।” उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताए।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे।

उनले भने, “कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ। हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ।”

“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ”, उनले भने। लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो। उनले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गरे।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान विचार भएका कम्युनिष्ट पार्टीका बीचमा छिट्टै समाजवादी मोर्चा बनाएर एकताको प्रक्रिया अगाडि बढाइने बताए। उनले मोर्चाका लागि प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पहल गरिरहनु भएकाले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गरे।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच छिट्टै एउटै पार्टी बनाउने गरी तयारी भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बताए। “विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी हुन सक्छौँ”, उनले भने।

अध्यक्ष नेपालले वामपन्थी कम्युनिष्ट एकापसमा मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेकाले त्यो दिन धेरै टाढा नभएको बताए। राष्ट्रिय समस्या समाधानका लागि वामपन्थी शक्तिबीचको एकता जरुरी रहेको उल्लेख गरे।

Categorized in राजनीति