STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सय बढीले लिए अपाङ्गता परिचयपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३, मंगलबार

ललितपुर महानगरपालिकाबाट एक महीनामा ११२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । महानगरपालिकाले सो योजना अघि बढाएको एक महीना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन् । गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९ महिला र ३१ पुरुष, मध्यम अपाङ्गतामा १२ महिला र छ पुरुष तथा साधारण अपाङ्गतामा एक पुरुषले मात्र परिचयपत्र लिनुभएको छ ।” महानगरले सो परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिको चाप बढेको बताइएको छ । अपाङ्गता परिचयपत्र वितरणका अलावा अन्य विभिन्न काममा पनि ध्यान दिनुुपर्ने भएकाले यही भदौदेखि महीनाको दुई पटक पाँच र २० गते वितरण गर्ने योजना अघि बढाइएको विष्टले बताउनुभयो । सो परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग गर्छ । महानगरको वडा नं ६ मा ५६, ७ मा ५६ र ८ मा ५८ अपाङ्गता भएका व्यक्ति रहेका शाखाका महिला विकास अधिकृत शोभा खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका अन्य २६ वडामा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनको काम अघि बढेको छ, सबै वडामा तथ्याङ्क सङ्कलन गर्ने काम समाप्त भएपछि नयाँ अपाङ्गताका हकमा नयाँ कार्यक्रम ल्याउनेछौँ ।” विगतमा अपाङ्गता परिचयपत्र पुस्तक ढाँचामा प्रकाशन भएको थियो भने हाल नागरिकता प्रमाणपत्र आकारमा भित्रिएको छ । महानगरमा सो परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्यरूपमा सम्बन्धित वडा कार्यालयको सिफारिश, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्मदर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने हुन्छ । महानगरपालिकाबाट परामर्श दिइने महानगरपालिकाको महिला विकास शाखाले ‘क’ वर्गको परिचयपत्र लिने अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिने गरेको छ । ‘क’ वर्गको अपाङ्गता भएका मानिसमा मनोरोगको समस्या देखिएसँगै परामर्श दिन शुरु गरिएको छ । यस्ता मानिस समाजमा बाहिर ननिस्कने तथा यिनले अरुसँग मनको कुरा खोल्न नपाउने हुँदा मनोरोग बढेको बताइएको छ । नेपालमा अपाङ्गतालाई चार प्रकारमा वर्गीकरण गरी १० भागमा विभाजन गरिएको छ । शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, हेमोफेलिया र बहुअपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र पाउनेछन् ।
Categorized in राष्ट्रिय