सरकारकै कारण गणतन्त्रविरोधीहरु सक्रिय : शेरबहादुर देउवा
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २९, सोमबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारकै कारण गणतन्त्रविरोधीहरु सक्रिय भएको बताएका छन्।
सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले पछिल्लो समय सडक आन्दोलनदेखि अराजक गतिविधि बढिरहेको भन्दै यसको जिम्मेवार ओली सरकार रहेको आरोप लगाए।
सरकारविरूद्ध मकवानपुरमा भएको प्रदर्शनमा सभापति देउवाले भने, 'राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो?' उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको पो की भन्दै आशंका व्यक्त गरे।
सम्बोधनका क्रममा देउवाले राजा आउने कुरामा कसैलाई भ्रममा नपर्न समेत आग्रह गरे। प्रजातन्त्रका लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै उनले राजा फर्केर आउने भ्रममा नपर्न आग्रह गरेका हुन्।
उनले एकलौटी शासन लागू गर्न खोजेको भन्दै ओली सरकारको चर्को विरोध गरे। देउवाले कोरोना भाइरसको जोखिमको समयमा जनता भेला गरेर दुःख दिन नचाहेको तर बाध्य भएर विरोधमा उत्रिनु परेको बताए।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो।सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी कांग्रेसको छ।
देउवाले कम्युनिस्टका विषयमा आफूले चुनावअघि भनेको उक्ति मिलेको दाबी गरेका छन् ।
कम्युनिस्टहरूले जिते भने हाँस्न त के रून पनि पाइँदैन भन्ने आफ्नो उक्ति स्मरण गर्दै देउवाले आजकाल कोही रोयो भने पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा रोएको भनेर पक्रेर लैजाने अवस्था रहेको भन्दै व्यंग्य गरे।
‘मैले भनेको थिएँ, कम्युनिस्टहरूले जितेछि हाँस्न त के रूँन पनि पाइने छैन भनेर । आज कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन,’ मकवानपुरको कोणसभामा देउवाले भने ।
Categorized in राजनीति

