STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सर्लाहीमा श्रीमान्द्वारा श्रीमतीको हत्या

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बरहथवा नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आउनुभएको थियो । रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो । यता श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरीसमक्ष ब्यान दिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना