STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसदको गुनासो ः राष्ट्रियसभामाथि प्रश्न किन

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २२, बुधबार

सङ्घीय संसद्को एउटा अङ्गका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गर्नुभएको छ । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै किन त्यस्तो भएको हो भन्ने प्रश्न गर्नुभयो । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले सभालाई थप प्रभावकारी बनाउन माग गर्नुभयो । उहाँले सभाले गरेका काम कारवाही नियमित रुपमा पत्रकार सम्मेलन गरी आम जनसमुदायलाई जानकारी दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभाको संवैधानिक हैसियत र काम कारवाहीबारे पुनः मूल्याङ्कन गरी थप प्रभावकारी बनाउन आग्रह गर्दै उहाँले सबै समितिलाई पर्याप्त काम उपलब्ध हुने गरी राष्ट्रियसभा नियमावलीमा सुधार गर्न माग गर्नुभयो । यस्तै उहाँले राष्ट्रियसभाको भूमिकाबारे सातवटै प्रदेशमा विचार गोष्ठी गर्नुपर्नेमा पनि जोड दिनुभयो । वडाध्यक्षको हत्याको छानबिन गर्न माग काँग्रेसका सांसद बद्री पाण्डेले सोमबार अछामका एक वडाध्यक्षको हत्या भएको भन्दै सो घटनाको उचित छानबिन गर्न माग गर्नुभयो । जनप्रतिनिधि कार्य क्षेत्रभित्र असुरक्षित हुने अवस्थाले शान्तिसुरक्षाको अवस्था कति भयावह रहेको छ भन्ने देखाएको भन्दै उहाँले सरकारसँग जनताले अनुभूत गर्ने गरी शान्तिसुरक्षा र अमनचयनको व्यवस्था गर्न माग गर्नुभयो । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा मङ्गलबार बिहान शव फेला परेको थियो । वडाध्यक्ष धामीको घरदेखि २०० मिटर परको भैँसीगोठमा उहाँको शव फेला परेको सांसद पाण्डेले जानकारी गराउनुभयो । ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न सकेको छैन । वर्तमान सरकार गठन भएपछि जनताले राजनीतिक स्थिरता, शान्तिसुरक्षा र अमनचयन कायम हुने अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै उहाँले अपराधीलाई कानूनको दायरामा ल्याउन राज्यसंयन्त्र चुकेको आरोप लगाउनुभयो । कोरोना जस्तै भ्रष्टाचार रुपी भाइरस फैलियो समाजवादी पार्टीका रामप्रीत पासवानले छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको भन्दै त्यसबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमका बारेमा पनि आमरुपमा जानकारी दिन आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचाररुपी भाइरस फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोकर्ण रिसोर्ट भाडा प्रकरण, मेलम्ची खानेपानी आयोजनालगायत ठेकेदार छनोटमा अनियमिता भएको भन्दै कवितामार्फत नै सरकारको व्यङ्ग्य गर्नुभयो । नेकपाका सांसद रामलखन चमारले सरकारले राष्ट्रिय जनगणना गर्न लागेको सन्दर्भमा दलित तथा अल्पसङ्ख्यक समुदायको उचित तथ्याङ्क आउने गरी प्रबन्ध गर्न गर्न माग गर्नुभयो । नेकपाका सांसद रामनारायण बिँडारीले सरकारको प्रमुख सूचनादाताका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको भन्दै गुनासो गर्नुभयो । नेपाल भारतबीच भएको १९५० को सन्धि, सुगौली सन्धिको आधिकारिक दस्तावेज एवम् पुरातात्विक महत्वका पुराना मूर्ति कहाँ छन् रु भन्ने प्रश्न गर्दै उहाँले सरकारको गुप्तचरी निकायले आफ्नो भूमिका पूरा नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । उहाँले नेपालको सरकारी सेवामा रहेका कर्मचारीले विदेशी मुलुकका नागरिकता लिएर राष्ट्रिय गोपनीयता चुहाएको भन्दै त्यस्ता कर्मचारीलाई कारवाही गर्न माग गर्नुभयो । सांसद बिँडारीले सरकारी सेवामा बसेकाले विदेशमा गएर जागिर खान नपाउने कानूनी व्यवस्था गर्न माग गर्नुभयो । फरक प्रसङ्गमा उहाँले शहरी क्षेत्रका भूकम्पपीडितले घर तथा आवास निर्माण गर्न नपाएको भन्दै टेको लगाएका घर तथा आवास पुनः निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले सरकारले भूकम्पपीडितलाई दिइँदै आएको रु तीन लाख अनुदानले शहरी क्षेत्रमा कुनै पनि घर तथा आवास निर्माण हुन नसक्ने भन्दै समस्याको उचित निरुपण गर्न आग्रह पनि गर्नुभयो ।
Categorized in राष्ट्रिय