STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साना उद्योगमा उत्साहजनक लगानी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ ।
 
राजनीतिक अस्थिरता र आङ्शिकरूपमा भए पनि विद्युत्को समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावरण सिर्जना भएको हो । घरेलु तथा साना उद्योगबाहेक बाँकेमा करोडौँको लगानीमा धेरै ठूला उद्योगसमेत सञ्चालनमा आउन थालेका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को वैशाख मसान्तसम्म जिल्लामा ८३० उद्योग दर्ता भएका छन् । तीमध्ये प्राइभेट फर्म ६९७, साझेदारी ६२ र ७१ प्रालिमा दर्ता भई अनुमति लिएका छन् । दर्ता भएका अधिकांश उद्योग सञ्चालनको प्रक्रियामा छन् । चालू आर्थिक वर्षमै दर्ता भई सञ्चालनमा आएका र आउने क्रममा रहेका उद्योगले करीब चार हजारलाई रोजगारी प्रदान गर्नेछन् । व्यवसायीले लगानीको वातावारण बन्दै गएकाले घरेलु तथा साना उद्योगमा आकर्षण देखिएको बताएका छन् ।
नयाँ उद्योग थपिएसँगै रोजगारीमा समेत वृद्धि भएको छ । औद्योगिक विकासमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण योगदान रहे पनि सरकारले यसलाई थप मजबुत बनाउन कुनै चासो नदिएको घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी सचिव मधु खड्काले बताउनुभयो । उहाँले साना उद्योग सञ्चालन गर्न उद्यमीलाई प्रोत्साहन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समयमा उद्योगका लागि राम्रो वातावरण बन्दै गएकाले उद्योग दर्ता भएसँगै सञ्चालनमा आउन थाले पनि घरेलु तथा साना उद्योगले ऊर्जा, सुरक्षा र बजारीकरणको समस्या झेलिरहेको छ । “भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण हाम्रा उत्पादनले अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।
सचिव खड्काका अनुसार साना उद्योगमा व्यवसायीको उत्साहजनक सहभागिता भए पनि उनीहरुमा सम्बन्धित ज्ञानको अभाव रहेको छ । “आफूले सञ्चालन गर्न लागेको उद्योगबारे सामान्य ज्ञानको समेत अभाव देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्तो समस्या हटाउन हामीले व्यावसायिक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ ।”
घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख प्रशिक्षक ऋषिराम पोखरेलका अनुसार उद्योग दर्ता गर्ने क्रम चालू आवमा उत्साहजनक छ । उहाँले भन्नुभयो, “जिल्लामा उद्योगको दर्ता र लगानी दुवै उत्साहजनकरूपमा बढेको छ ।
साना उद्योगबाहेक पनि बाँकेमा करोडौँको लगानीमा थुप्रै ठूला उद्योग पनि सञ्चालन हुँदैछन् । उद्योगमा लगानीको वातावरण उत्साहप्रद छ । स्थिर सरकार बनेपछि उद्योगमा लगानी बढेको छ । प्रमुख प्रशिक्षक पोखरेलले भन्नुभयो, “नयाँ स्थापना भएका उद्योगले यति नै लगानी गरे भन्ने यकिन तथ्याङ्क नभए पनि थप लगानी र रोजगारी वृद्धि भएको छ ।” 
दर्ता भएका साना उद्योगको लगानी करीब रु दुई अर्ब रहेको अनुमान छ । यी उद्योगले वार्षिकरूपमा करीब रु तीन अर्ब बराबरका सामग्री उत्पादन गर्ने लक्ष्य लिएका छन् । व्यवसायीहरुले उद्योगलाई फस्टाउने वातावरण बनाउन सरकारले विभिन्न प्रकारका सहुलियत प्रदान गर्नुपर्ने बताएका छन् । 
Categorized in राष्ट्रिय