सामुदायिक विद्यालयमा आकर्षण बढ्दै
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार
ऋणधन गरेर भए पनि निजी विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कतिपय सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालीमप्राप्त अनुभवी शिक्षक भए पनि अङ्गे्रजी माध्ययममा पढाइ हुनु नै निजी विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि निजी विद्यालय प्रतिको आकर्षणका कारण कतिपय सामुदायिक विद्यालय रित्तिँदै गएका छन् तर, वडा नं ५ मा रहेको त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिनमा विद्यार्थीको अभाव छैन ।
अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक युवराज लामाले बताउनुभयो । निजी विद्यालयका कारण विद्यालयमा विद्यार्थीको आकर्षण क्रमशः घट्दै गएपछि दरबन्दी नै कटौती हुने अवस्था आएपछि अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरिएको प्रधानाध्यापक लामाको भनाइ छ ।
लामाले भन्नुभयो, “विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गयो, दरबन्दी नै कटौती हुने अवस्था पुग्यो, त्यसपछि हामीले २०६६ सालबाट कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु ग¥यौँ, जब अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भयो त्यसपछि क्रमशः निजी विद्यालयबाट बालबालिका यस विद्यालयमा भर्ना हुन थाले ।” अहिले कक्षा ७ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको प्रधानाध्यापक लामाले बताउनुभयो ।
साथै विद्यालयमा कक्षा ४ देखि नै अतिरिक्त कम्प्युटर कक्षाको व्यवस्था गरिएको छ भने बालकक्षादेखि कक्षा ५ सम्मका लागि छुट्टै पुस्तकालयको व्यवस्था गरिएको छ । बुक फर चेञ्ज संस्थाले पुस्तकालयको व्यवस्था गरिदिएको हो । विद्यालयमा ६११ विद्यार्थी अध्ययनरत छन् । त्रिवेणी वराहा गाउँपालिकाभित्र अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने एक मात्र विद्यालय हो ।
Categorized in राष्ट्रिय