STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई  प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक बढेको हो । जिल्लाको शैक्षिक अवस्था पछि परेको मानिएको सरावल गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय अहिले त्यस क्षेत्रको विद्यार्थीको रोजाइमा परेको छ ।  
 
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न गरेको विभिन्न कामका कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी  बताउनुहुन्छ  । शैक्षिक अवस्था सुधार गर्न शिक्षकको उचित व्यवस्थापनसहित  भौतिक पूर्वाधार, फर्निचर, छात्रवृत्ति, पोशाक, लगायतका क्षेत्रमा सामुदायिक विद्यालयलाई गाउँपालिकाले सहयोग गर्दै आएको जनाएको छ ।  
शैक्षिकअवस्था अनुसार सरावल गाउँपालिकामा रहेको जनता मावि भुजहवा स्थानीय तहभित्र अगाडि देखिएको छ । कक्षा ८ को नजिताअनुसार सो विद्यालय गाउँपालिकाभित्रको सामुदायिक विद्यालयमध्ये अगाडि देखा परेको हो । सो विद्यालयमा विद्यार्थीको चाप बढेको पाइएको  छ । सो विद्यालयमा अहिले  कक्षा ८ देखि कक्षा १० सम्म फरक फरक सेक्सन बनाउदा पनि एउटा कक्षा कोठामा १०० जनासम्म  विद्यार्थी अध्ययन गर्नुपर्ने बाध्ययता रहेको विद्यालयले जनाएको छ ।
  
कक्षा ५ भन्दा माथि सबै कक्षामा फरक फरक सेक्सन गर्नुपर्ने अवस्था देखिएको छ ।  कक्षा ६ र ७ मा एउटै कक्षामा ११० जना सम्म  विद्यार्थी अध्ययन गरेका छन् । कक्षा ५ देखि नै माथिल्लो सबै कक्षामा सेक्सन थप गर्दै लैजानुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । 
शैक्षिक सुधार प्रमुख लक्ष्यअनुसार गाउँपालिकाले कामअघि बढाएको र आगामी योजनासमेत सोहीअनुसार निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ ।  
अझ सामुदायिक विद्यालयको आकर्षणसहित शिक्षालाई प्रभावकारी बनाउन गाउँपालिकाका अध्यक्ष चौधरीले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुभएको छ ।चौधरीले गाउँपालिकाको अध्यक्ष भएकोले आफ्नो दायित्व गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने भएकाले आफ्नो घरपरिवारबाटै यसको शुरुआत गरेको बताउनुहुन्छ । 
आगामी दिनमा गाउँपालिका भित्रका सबै जनप्रतिनिधि र कर्मचारीले समेत आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने योजना बनाएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाअन्तर्गत १९ वटा सामुदायिक विद्यालय रहेका छन् । 
Categorized in राष्ट्रिय