सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार
भक्तपुरकी ७१ वर्षीय ईश्वरप्रसाद नेपाल आफूले ज्येष्ठ नागरिक सिट पाउन विवाद गर्नु परिरहेको अनुभव सुनाउनुुहुन्छ । कतिपय यात्रु आफैँले बुझेर यहाँ बस्नुहोस् भन्छन् भने पनि कतिपयले चुप लागेर बस्ने गर्छन् । सवारीसाधनका कर्मचारी आरक्षण सिटको कार्यान्वयन भए नभएकामा वास्ता नगर्ने उहाँको अनुभव छ । आरक्षण सिटमा बसिरहेका युवालाई उहाँ आफैं उठाएर बस्नुहुन्छ । मध्यम र लामो दूरीका सवारीसाधनमा ज्येष्ठ नागरिकले कति पनि छुट नपाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “काठमाडौँबाट भक्तपुरसम्म छुट पाइन्छ तर बनेपा, धुलिखेल पुग्दा नै दिन गाह्रो मान्छन् ।”
यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । काठमाडौँ उपत्यकाका अधिकांश यात्रुले दैनिक यी र यस्तै समस्या भोग्ने गरेका छन् । सार्वजनिक यातायातमा रहेका अधिकांश समस्या चालक–सहचालकसँगै जोडिएका छन् । चालक–सहचालकले राम्रो व्यवहार नगरेकै कारण कतिपयले थोरै आम्दानी भए पनि बाध्यताले निजी सवारीसाधन चढ्नु परेको बताउँछन् । कतिपय यात्रु भने सहचालकसँग सामान्य प्रश्न गर्दा पनि झर्किएर बोल्ने, झर्नुहोस भन्ने र हात हाल्न खोज्ने भएकाले आफैँलाई वा अरूलाई अन्याय पर्दा चुपचाप लाग्ने गरेका छन् ।
चालक–सहचालकको व्यवहार सुधार गर्न सरकार र यातायात व्यवसायी दुवैले ध्यान दिनुपर्ने यातायात क्षेत्रका अभियानकर्मी राम थापाले बताउनुभयो । यातायात व्यवसायीले नाफाका केही हिस्सा आफ्ना कर्मचारीको तालीमका लागि छुट्याउनुपर्ने उहाँको सुझाव छ । सार्वजनिक यातायातमा चालक–सहचालकले यात्रुलाई सम्मान नगर्ने र सानो कुरामा पनि झगडा गर्दा यात्रु सहज वातावरणमा आवतजावत गर्न नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कारणले पनि यात्रु र चालक–सहचालकबीच झगडा दैनिक भइरहेको छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल विभागले नियमितरुपमा सार्वजनिक सवारीसाधनको नियमन गरिरहेको बताउनुभयो । यात्रुले गरिरहेको गुनासोका आधारमा र विभाग आफैँले अनुगमन गरेर गल्ती पाएमा कारवाही गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले उपत्यका बाहिर जान नसकिए पनि काठमाडौँ उपत्यकामा नियमितरुपमा अनुगमन र आवश्यक पर्दा कारवाही गरिरहेका छौँ ।”
चालक अनुमतिपत्र सामान्य सडक नियमका बारेमा लिखित परीक्षा र सवारी चलाउने जानेर ‘ट्रायल’ पास गरेपछि चालकलाई दिइन्छ । सवारीचालक अनुमतिपत्र परीक्षाले व्यावहारिक ज्ञानलाई समेटेको छैन । सहचालक बन्नका लागि भने कुनै पनि मापदण्ड वा परिचयपत्रको समेत आवश्यकता नपर्ने उहाँले बताउनुभयो ।
पहिले यातायात व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको मात्रै भए पनि संविधानले यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र स्थानीय तहलाई समेत दिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी चालकलाई सवारी चलाउनेबाहेक यात्रुसँग व्यवहारसम्बन्धी तालीमको व्यवस्था गरेको छैन । सङ्घीय सरकारले अहिले यातायात व्यवस्थासम्बन्धी विधेयक मन्त्रालयमा छलफल भइरहेको छ । पाँच वर्षको उपत्यकाको सवारी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका यातायात प्राधिकरण विधेयक संसदीय समितिमा छलफलमा रहेको छ ।
Categorized in विचार


