STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिंहदरबारको झल्को दिँदै गाउँपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् । 
सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् । 
“सार्वजनिक सेवा सुविधा लिनका लागि यसअघि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने अवस्था थियो, स्थानीय सरकार गठन भएसँगै ती सम्पूर्ण सेवा सुविधा गाउँबाटै सहज र पारदर्शी रुपमा पाउन थालेपछि स्थानीयवासी उत्साहित देखिएका छन्”, जानकी गाउँपालिका–१ साइगाउँ बस्ने इन्द्रबहादुर थापाले भन्नुभयो, “गाउँपालिकाबाट प्रदान गर्ने सेवा सुविधासमेत आफ्नै घरआँगनमा पाउन थालेपछि उनीहरु खुशी भएका छन् ।”
जनप्रतिनिधि नभेटिने, जनताका काममा भन्दा आफ्नै व्यवसायमा बढी केन्द्रित हुने, सरकारी सम्पत्ति दुरुपयोग गर्नेलगायतका आरोप जनप्रतिनिधिलाई लागिरहेका बेलामा बाँकेका जानकी गाउँपालिकाका बासिन्दाले भने घरैमा सरकारी सेवासुविधा पाएपछि साँच्चिकै सिंहदरबार गाउँमै आएको अनुभूति गर्न थालेका हुन् । 
जनाताको सुविधालाई ध्यानमा राखेर गाउँपालिकाकाले उनीहरुको घरघरमा पुगेर सरकारी सेवा दिएको छ । गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविर आयोजना गरेर जनतालाई घरैमा सेवा दिने वातावरण मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताउनुभयोे ।
उहाँका अनुसार ज्येष्ठ नागरिक परिचयपत्र, आपाङ्गता परिचयपत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाका लागि आवश्यक पर्ने बैंक खाता खोल्ने सुविधासमेत घरघरमा उपलब्ध गराइएको छ । 
मङ्गलबार मात्रै अपाङ्गता परिचयपत्रका लागि वडा नं १ साइगाउँमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी खटिएका छन् । वडा नं १ बाट शुरु गरिएको घुम्ती शिविर गाउँपालिकाका छ वटै वडामा सञ्चालन गरिनेछ ।  
गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधाको जानकारी दिन र जनताको काम गरिदिन गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि प्रत्येक वडामा पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।
गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रमलाई समेत अगाडि बढाएको छ । जानकी गाउँपालिकाको छ वटै वडामा ८४ वर्ष उमेर पूरा गरेका करीब २०० ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न महीनामा कम्तीमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा सरकारी सेवासुविधा सकेसम्म सरल र सहज तथा व्यवस्थित तरिकाले जनतामाझ पु¥याउन घुम्ती शिविर सञ्चालन गर्ने गरिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धितालको भनाइ छ ।
Categorized in राष्ट्रिय