STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सीसीएमसी निर्णय : निषेधाज्ञामा थप कडाइ, २२ नाका पूर्णरूपमा बन्दको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरूमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले बाँकी २२ वटा नाका पूर्ण रूपमा बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै, बैठकले निषेधाज्ञा लागू भएका जिल्लाहरूमा एक चौथाई कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै सरकारी कार्यालय र बैक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । यस्तै, बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ ।

यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीहरूलाई निमार्ण स्थलमा नै राख्नुपर्ने छ । सीसीएमसीले उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालका रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रूपमा रहेका होटलहरूलाई थप व्यवस्थित गर्ने निर्णय सीसीएमसीले लिएको छ ।

फाइल तस्बिर

Categorized in राष्ट्रिय