STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार

वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् । चक्रपथबाट झण्डै चार किलोमिटर दूरीमा रहेको सिद्धिपुरमा अरु धेरै कुरामा परिवर्तन आए पनि परालबाट विभिन्न सामग्री बनाउने परम्परागत काममा भने परिवर्तन आएको छैन । सुकुल बनाउने पेशा सिद्धिपुरको विशेषता बनेको छ । समूहमा गरिने यो काम आन्तरिक र बाह्य दुबै पर्यटकका लागि चाख लाग्दो भएको देख्न सकिन्छ । यहाँका अधिकांश महिलासँग सुकुल बनाउने सीप छ । सिद्धिपुरभन्दा टाढा माइती भएर यहाँ बिहे गरेर आएका महिलाले पनि केही समयमा सिकिहाल्ने उनीहरु बताउँछन् । सिद्धिपुरकी नारायणदेवी महर्जन परालबाट विभिन्न सामग्री बनाएरै भान्साका लागि खर्च जुटाउनुहुन्छ । बिहान साँझ घरको काम गरेर दिउँसो फुर्सदको समयमा उहाँ सुकुल, गुन्द्री चकटी, जुत्तालगायतका सामग्री बनाउनुहुन्छ । आफ्नो हातमा सीप भए दुईचार पैसाकै लागि श्रीमान्सँग हात फैलाउनु नपर्ने उहाँले बताउनुभयो । आफूले सामान बनाउन सके बजारसम्म लैजानु नपर्ने महर्जनले बताउनुभयो । यी सामान खोज्ने घरघरै आइपुग्छन् । परम्परागत सामग्रीको माग एकातिर कम भएको छैन भने परालबाट बनाइने जुत्तालगायतका सामग्रीको पनि बजारमा माग छ । ललितपुरका विभिन्न स्थानमा रहेको इटाभट्टामा काम गर्नेहरु सुकुल, गुन्द्री खोज्न आउने उहाँले बताउनुभयो । आफन्तको मृत्यु भएपछि शुद्ध लगाउनुपर्नेले परालको जुत्ता लगाउने गर्छन् । महर्जनले भन्नुभयो, “धेरै खालका सामान त बनाउन आउँदैन जानेको बनाउँदा बेच्न कुनै समस्या छैन ।” नारायणदेवीजस्तै तोयोनानी महर्जनले पनि आफू सानै हुँदादेखि सुकुल बनाउन सिक्नुभएको थियो । बिहे पहिले उहाँका उमेरका साथी एकै ठाउँमा बसेर सुकुल बनाउने गर्दथे । त्यतिबेला सुकुल बनाउने काम मात्रैभन्दा पनि मनोरञ्जन भएको उहाँको भनाइ छ । राति ११÷१२ बजेसम्म एकै ठाउँमा बसेर सुकुल बनाउने गरिन्थ्यो । पहिले फोन वा इन्टरनेट नहुँदा मनोरञ्जनको सामग्री नै काम गर्नु थियो । उहाँले भन्नुभयो, “त्यतिबेलाको सम्झेर होला अहिले पनि एक ठाउँमा बसेर सुकुल बनाउँदा रमाइलो लाग्छ ।” पहिलेभन्दा अहिले सुकल बनाउने काम व्यावसायिक बन्दै गएको सिद्धिपुरवासी बताउँछन् । पहिले आफैँलाई घरमा वा अन्न सुकाउन चाहिने हुँदा धेरै सुकुल बनाउने गरेका थिए । अहिले अरु ठाउँमा जस्तै सिद्धिपुरका घरका कोठा आधुनिक कार्पेटले भरिएका छन् । उनीहरु आफ्ना लागि मात्रै भन्दा पनि बेच्न र थोरै भए पनि आम्दानीका लागि सुकुल बनाउने गर्छन् । आमाहरुले जिन्दगीभर गरेको सुकुल बनाउने काम उनीहरुका छोरीले भने जानेका छैनन् । अरु परम्परागत काममा जस्तै यसमा युवापुस्ताको आकर्षण छैन । सिद्धिपुरकी चिरीमैयाँ महर्जन आफ्नी छोरीले डोरीसमेत बनाउन नजान्ने बताउनुभयो । उहाँका अनुसार अहिलेका पढ्ने मान्छेलाई यी काममा चासो छैन । उहाँले भन्नुभयो, “फुर्सद भएपछि अहिलेका मान्छे टिभि हेर्छन् कहाँ यस्ता काममा आकर्षण छ र रु”अहिले एउटा सुकुलको मूल्य झण्डै पाँचदेखि छ समयसम्म पर्छ । पहिलेपहिले आफ्नै परालले पुग्ने भए पनि अहिले किन्नुपर्ने उनीहरु बताउँछन् । अहिले स्थानीयवासीको खेत कम हुँदै जाँदा पराल अपुग हुन थालेको हो । सुकुलको मूल्य पनि समयानुसार बढिरहेको छ । तीन दशक पहिलेसम्म रु पाँचदेखि १० मा आउने ठूलो सुकुलको अहिले बजार मूल्य झण्डै एक हजारसम्म छ ।
Categorized in राष्ट्रिय