सुनागुथिमा भाद्र ४ गते संसारकै विशाल भीमसेन देवताको भव्य पूजा हुने
Janjati Khabar – LALENDRA SHAKYA | २०७९ श्रावण ३१, मंगलबार
सहभागिताको लागि उपत्यकाका सम्पूर्ण भक्तजनहरुलाई आह्वान
ललितपुरस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्वको नेवार समुदायको बस्ती सुनागुथिको बालकुमारी परिसरमा स्थापना गरिएको भीमसेनको पूजा भाद्र ४ गते शनिबार भव्यताका साथ हुने भएको छ ।
सुनागुथि क्षेत्रको सर्वाङ्गीण विकास तथा ललितपुरलाई नै सांस्कृतिक एवम् धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिवर्तन गरी सुपरिचित गराउन र समग्र देशकै गरिमा र गौरवलाई विश्वसामु चिनाउन मद्दत पु¥याउने उद्देश्यले स्थापना गरिएको एउटै शिलामा कुँदिएको सम्भवतः संसारकै सबैभन्दा अग्लोे शक्ति र निष्ठाका प्रतीक एवम् व्यापारिक शुभ–लाभका आराध्यदेव भिन्द्यो अर्थात् भीमसेनको पाँचौ स्थापना दिवस भाद्र ४ गते शनिबारको दिनमा रहेको सुनागुथि समाजका अध्यक्ष बिनोद डंगोलले जानकारी दिनुभएको छ ।
समाजका अध्यक्ष डंगोलले भीमसेनको उक्त पाँचौं स्थापना दिवसमा हुने भव्य पूजामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई आह्वान पनि गर्नुभएको छ ।
सुनागुथिका चर्चित संगीतकर्मी रुपेश डंगोलले दिनुभएको जानकारी अनुसार कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण केही बर्ष साधारण पूजाआजा मात्र गरिएको र अहिले सुनागुथि समाजद्वारा समस्त भक्तजनहरुलाई लक्षित गरि भाद्र ४ गते शनिबार भिमसेनको वृहत्त रुपमा भव्य र सभ्य तवरले पूजाआजा हुने भएको छ ।
उक्त भीमसेन पूजामा हाँस्यसम्राट मदनकृष्ण श्रेष्ठदेखि चर्चित कलाकारहरु संजय श्रेष्ठ, भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, दीपक बज्राचार्य, विजय गुरुङ, कविन्द्र श्रेष्ठ, ज्योति घिमिरे, सचिन रौनियार, भुपेन्द्र बज्राचार्य, दीपाश्री निरौला, केदार घिमिरे, दिपकराज गिरी लगायत अन्य कलाकारहरुको विशेष उपस्थिति हुने जानकारी सुनागुथिका संगीतकर्मी रुपेश डंगोले दिनुभएको छ ।
भाद्र ४ गते शनिबार हुने उक्त भीमसेनको भव्य पूजामा यसरी देशका गहनारुपी बरिष्ठ एवं चर्चित कलाकारहरुको उपस्थितिले उक्त पूजा उत्साह स्वरुप सान्दर्भिक एवं गरिमामय हुनेमा सुनागुथिका समाजसेवी पूर्ण महर्जन आशामरुले आफ्नो मनसाय पोख्नु भएको छ ।
भीमसेन पूजा आयोजक संस्था सुनागुथि समाजले काठमाडौं उपत्यकाका सम्पूर्ण भक्तजनहरुलाई उक्त पूजामा सहभागी हुन पनि विनम्र अनुरोध गरेको छ ।
Categorized in उपत्यका

