STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुशान्त सिंह आत्महत्या प्रकरणमा सिबिआई जाँच हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार

एजेन्सी । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिसलाई भारतको केन्द्र सरकारले स्वीकार गरेको छ। सरकारको यस स्वीकारोक्तिको जानकारी सर्वोच्च अदालतलाई दिइसकिएको बिबिसी हिन्दीले जनाएको छ। आत्महत्या प्रकरणमा सुशान्तका पिताले छोराकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरूद्ध उजुरी दिएपछि आफूलाई पक्राउ नगर्न रियाले बिहार पुलिसको जाँचलाई चुनौती दिदैं सर्वोच्च अदालतमा याचिका दायर गरेकी थिइन्। न्यायाधीश हृषिकेश रायले यसमाथि सुनुवाइ गर्दैछन्। रियाले आफ्नो याचिकामा घटनाको बिहारमा भइरहेको जाँच मुम्बईमा गर्न अपिल गरेकी थिइन्। सुशान्तका बाबुले रियाले आफ्नो छोराबाट बलजफ्ती पैसा लिएको र आत्महत्या गर्न बाध्य पारेको भन्दै बिहार प्रहरीमा उजुरी दिएका थिए। अभिनेता सुशान्त १४ जुनमा मुम्बईस्थित आफ्नो घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले यसलाई आत्महत्याका रूपमा जाँच गरिरहेको छ। यस प्रकरणमा मुम्बई प्रहरीले रियासहित बलिउडका थुप्रै चर्चित हस्तीहरूसँग सोधपुछ गरिसकेको छ। यसमा महेश भट्टदेखि लिएर संजय लीला भन्सालीसम्म छन्। मंगलबार बिहार सरकारले सुशान्तको आत्महत्या प्रकरण सिबिआई दिनुपर्ने सिफारिस गरेको थियो। यद्यपी मुम्बई प्रहरीले सिबिआई जाँच गर्नुपर्ने मागलाई अस्वीकार गरिसकेको छ। रायले महाराष्ट्र प्रहरीलाई यस प्रकरणमा व्यवसायिक तरिकाले काम भए/नभएको भन्ने बारेमा जवाफ दिन भनेका छन्। सबैको हितका लागि घटनाको सत्यतथ्य आउनै पर्ने रायको भनाइ छ। सर्वोच्च अदालतले बिहार प्रहरीलाई क्वारेन्टिनमा राखेकोमा मुम्बई प्रहरीको आलोचना गर्दै घटनाले सही सन्देश नदिएको बताएको छ। यसैगरी रियाका वकिलले बिहार प्रहरीमा गरिएको उजुरीलाई मुम्बई सार्नुपर्ने बताएका छन्। तर सुशान्तका बाबुका वकिलले भने यसको विरोध गरेका छन्। उनले महाराष्ट्र प्रहरीले बिहार प्रहरीलाई सहयोग नगरेको आरोप लगाएका छन्। न्यायाधीश रायले सबै पक्षलाई तीन दिनभित्र आफ्नो जवाफ दिन भनेका छन्। उनले सुनुवाइका लागि एक सातापछिको तारिख तय गरेका छन्।
Categorized in सिनेमा