STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुस्ताए साहित्यिक संस्था सहभागी जुटाउनै मुस्किल

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

गत वर्ष विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिले मासिक काव्यगोष्ठी शुरु ग¥यो । रचना सुनाउने–सुन्ने थलो पाएपछि कवि, सर्जक र साहित्यप्रेमी पनि हौँसिए । सुस्ताउँदो बागलुङको साहित्यमा नयाँ आशा जाग्यो । गोष्ठी केही महिना नियमित चल्यो । विस्तारै सहभागी घट्दै गए । गोष्ठी प्रभावहीन बन्न थाल्यो । मासिकको सट्टा केही महिना बिराएर हुन थाल्यो । पछि त्यही पनि रोकियो । नियमित गर्ने भनिएको काव्यगोष्ठी वर्ष दिन पनि टिकेन । चालिस र ६० दशकमा पनि जिल्लामा नियमित रचना वाचनका कार्यक्रम हुन्थे । धवलागिरि साहित्य प्रतिष्ठान तथा भावक अभियानलगायतका संस्थाले गोष्ठीको परम्परा धानेका थिए । प्रतियोगिता पनि उत्तिकै हुन्थे । दर्जनौँ साहित्यिक पत्रपत्रिका निस्कन्थे । सशत्र द्वन्द्वको उत्तराद्र्ध र शान्ति प्रक्रियापछि साहित्यिक संस्था खोल्ने लहरै चल्यो । गाउँ र शहर हुँदै विद्यालय र क्याम्पससम्म संस्था÷सङ्गठन बने । कतिपयले साहित्यिक क्रियाकलाप गरे, कोही नाम मात्रका भए । समय बित्दै गयो । तिनै संस्थाबारे खोजीनीति गर्नुपर्ने बेला आयो । पुस्तकालयले हालै ‘बागलुङका साहित्यिक संस्थाबारे’ समीक्षात्मक गोष्ठी राखेर धर्मराएका साहित्यिक संस्थालाई झक्झकायो । साहित्यिक संस्थाका पदाधिकारी÷प्रतिनिधिले संस्थालाई गति दिने प्रतिबद्धता गरे । केहीले निष्क्रिय हुनुका कारण सुनाए । केही अग्रणी साहित्यिक संस्थाबाहेक अधिकांश गतिहीन छन् । कति त गुमनाम भइसके । साठीको दशकको अन्त्यतिर गठन भएको धवलागिरि वाङ्मय समाजका अध्यक्ष लालचन्द्र राजभण्डारीले समितिका पदाधिकारी÷सदस्यले जिल्ला छाडेकाले संस्था निष्क्रिय भएको जानकारी दिनुभयो । मधुश्री साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष धनराज सापकोटा ‘जिज्ञासु’ले संस्थालाई विधिवत दर्ता गरेर चलाउन खोजिए पनि नसकिएको स्वीकार गर्नुभयो । “सबै कताकता भइयो, व्यस्तता पनि यस्तै छ”, उहाँले भन्नुभयो, “समिति पुनःगठन गरेर नयाँ साथीलाई जिम्मा लगाउनेबारे सोचिरहेको छु ।” धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले सभा, समारोहमा आसनग्रहणका लागि मात्र संस्थाको नेतृत्व ओगट्न नहुने धारणा राख्नुभयो । “चाहे वर्षको एउटै किन नहोस् संस्थाहरुले साहित्यिक क्रियाकलाप गर्नुपर्छ”, उहाँले भन्नुभयो । वाङ्मय समाजका अध्यक्ष राजभण्डारीले नयाँ समिति बनाएर भए पनि संस्थालाई गति दिइने उल्लेख गर्नुभयो । “साहित्यिक कार्यक्रममा मान्छेलाई उपस्थित गराउनै गाह्रो छ”, उहाँले भन्नुभयो, “हामीले अब नयाँ र सिर्जनशील ढङ्गले सोच्नुपर्छ ।” धवलागिरि कला तथा साहित्य मञ्चका कार्यवहाक अध्यक्ष सिर्जना कार्कीले कला, साहित्यले महत्व नपाएको गुनासो गर्नुभयो । “बागलुङमा कार्यक्रम ग¥यो, सहभागी जुटाउनै गाह्रो छ”, उहाँले भन्नुभयो, “कार्यक्रम सफल नहुँदा हीनताबोध हुँदोरहेछ ।” कार्कीले अर्थाभावका कारण पनि साहित्यिक संस्था गतिशील हुन नसकेको उल्लेख गर्नुभयो । समीक्षात्मक गोष्ठीमा सहभागी धवलागिरि एफएमका कार्यकारी सम्पादक नवीन शिशिर विकले साहित्यलाई पनि व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । “गायक, कलाकारले गीत गाएर पैसा पाएझैँ कवि, लेखकलाई पनि पैसा दिनुपर्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक बनाउन नसक्ने हो भने यो क्षेत्रलाई समाजले अनुत्पादक नै भनिरहन्छ ।” नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले उत्कृष्ट र अमर रचनाले मात्र साहित्य समृद्ध हुने विचार राख्नुभयो । पत्रकार महासङ्घ गण्डकी प्रदेशका सदस्य सङ्गम घर्तीमगरले सर्जकलाई उत्साह र प्रोत्साहन दिनुपर्ने बताउनुभयो । धवलागिरि बहुमुखी क्याम्पस बागलुङका नेपाली विभाग प्रमुख प्रा डा दिनबहादुर थापाले साहित्यिक संस्थालाई एकीकृत गर्न सुझाव दिनुभयो । उहाँले साहित्य मात्र नभएर सिङ्गो नेपाली वाङ्मय क्षेत्रको उत्थानमा संस्थाहरु क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । बागलुङमा विसं २०३४ मा स्थापित रत्न श्रेष्ठ पुरस्कार गुठी र विसं २०४१ मा स्थापना भएको धवलागिरि साहित्य प्रतिष्ठान अगुवा साहित्यिक संस्थाका रूपमा क्रियाशील छन् । दुवै संस्थाले पुरस्कार सञ्चालनदेखि वर्षभरिमा विभिन्न साहित्यिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । हातेमालो साहित्य सङ्गम, धवलागिरि कला तथा साहित्य मञ्चलगायतका संस्थाले छिटपुटरूपमा गतिविधि सञ्चालन गर्छन् । केही महिनाअघि नेपाल हाइकू समाज बागलुङ पनि गठन भएको छ । जिल्लाको गलकोट, बडिगाड, बुर्तिवाङलगायतका ठाउँमा पनि साहित्यिक संस्था खुलेका छन् । पुस्तकाललगायत प्राज्ञिक सङ्घ–संस्थाले समेत बेलाबखत साहित्यिक गतिविधि सञ्चालन गर्छन् । बागलुङमा साहित्यिक संस्थाको इतिहास ४५ वर्षको छ ।
Categorized in राष्ट्रिय