सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ६, बिहिबार
काठमाडौँ – नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्ने भएको छ ।
दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफाइ गर्न लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले जानकारी दिए ।
यसपालि सगरमाथा, ल्होत्से,पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमालको सफाइ हुने छ । बेस क्याम्प र त्यसभन्दा माथिको क्षेत्रमा सफाइ गरेर ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सहायक रथी खड्काको भनाइ छ । १८ टन फोहर बेस क्याम्पभन्दा माथिबाटै सङ्कलन गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।
सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, पासाङ ल्हामु गाउँपालिका,थासाङ गाउँपालिका, मकालु वरुण गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यु एसोसिएशन, सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।
२०७७ सालको चैत ३१ गते आरोहण टोलीलाई ब्यानर हस्तान्तरण गरेर अभियानको सुरु हुने र २०७८ सालको जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ । सेनाले नसड्ने फोहर हेलिकप्टर र गाडीमार्फत काठमाण्डौ ल्याएर फेरि प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्ने पनि सेनाले जनाएको छ । अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ ।
हिमाल सफाइका लागि सेनाले मुस्ताङको जोमसोममा विशेष तालिम हुने जनाएको छ । हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको सहायक रथी खड्काले बताए । यसमध्ये नेपाली सेनाको साढे दुई करोड र वन तथा वातावरण मन्त्रालयले १० करोड रुपैयाँ खर्च गर्नेछ ।
हिमालमा बारम्बार सफाइ अभियान गर्नुभन्दा फोहर नै हुन नदिनेतर्फ ध्यान दिनका लागि पनि विभिन्न निकायसँगको सहकार्यमा काम हुनुपर्ने सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो । गएको वर्ष कोरोना महामारीका कारण हिमाल सफाइको काम प्रभावित भए पनि यो वर्ष फेरि निरन्तरता दिन लागिएको सेनाले जनाएको छ ।
Categorized in राष्ट्रिय

