STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्पेनमा ४ नेपालीमा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार

काठमाडौं– स्पेनमा चारजना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको बेग्लाबेग्लै अस्पतालमा उपचार भइरहेका छन् । बार्सिलोनाको साग्रादा फ्यामिलियामा बसोबास गर्दैआएका एकजना नेपालीको सान्पाओ अस्पतालमा उपचार भइरहेको छ । अरु तीनजना नेपाली भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहींकै स्थानीय अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमितहरुको परिचय भने गोप्य राखिएको छ । स्रोतकाअनुसार चारैजना संक्रमित पुरुष हुन् । तीनजनाको अवस्था सामान्य रहे पनि एकजनाको भने आइसियुमा उपचार भइरहेको छ । स्पेनको लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सुचना दूतावासमा आएको जनाएका छन् । राजदूत शेर्पाले भने, “बार्सिलोनामा बसोबास गर्दैआएका केही नेपालीमा पनि कोभिड–१९ को संक्रमण भेटिएको सुचना आएको छ । ती संक्रमितबारे दुतावासले सुचना संकलन गरिरहेको छ ।” राजदूत शेर्पाले संक्रमित तथा उनका परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरेका छन् । उपचारलगायत अन्य सबै प्रक्रियामा दूतावासले सहयोग गर्ने राजदूत शेर्पाले जनाएका छन् । तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन् । स्रोतका अनुसार पहिलो संक्रमितमा एक साताअघि परीक्षण पोजेटिभ देखाएको थियो । अन्य तीनजनाको भने रिपोर्ट आउन बाँकी छ । तर यो घटना अझै नेपाली समुदायमै गुपचुप रहेको छ । नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारको अनुरोधमा नै घटना सार्वजनिक नगराएको बताएका छन् । शर्माले भने, “संक्रमितसँग सम्पर्कमा रहेका सबैलाई खबर गरी अस्पतालमा जाँच गर्ने सुझाव दिइसकेको छु ।” एनआरएनए आइसिसी सदस्य चिन्तामणि सापकोटाले चारजना संक्रमितहरु क्याटालोनिया क्षेत्रका रहेकाले त्यहाँका नेपाली समुदायलाई सजगत हुन अनुरोध गरेका छन् । स्रोतका अनुसार संक्रमित तीनैजना बेग्लाबेग्लै परिवारका हुन् । तिनका रिपोर्ट पोजेटिभ देखिए पनि घरका अन्य सदस्यको स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएको जनाइएको छ । एनआरएन स्पेनका अध्यक्ष दिनेश गुरुङ देउकाजीले घटनाको जानकारी बाहिर ल्याउने जनाएका छन् । गुरुङले भने, “संक्रमित भएमै आत्तिनुपर्ने अवस्था छैन । राजदुतावास, एनआरएन र संघसंस्थाहरुकै सहकार्यमा अहिलेको परिस्थितिको सामना गर्नेछौं ।” स्पनेमा करिब १० हजार नेपाली बसोबास गर्दैआएका छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजार नेपालीको बसोबास रहेको अनुमान छ । आफू संक्रमित भएको कुरा गोप्य राखेको अवस्था हेर्दा स्पेनमा थप नेपाली संक्रमित हुनसक्ने आशंका छ । गत मार्च १४ देखि सम्पूर्ण देश लकडाउन गरिए पनि स्पेनमा कोरोनाको माहामाभरी अझै नियन्त्रणमा आउनसकेको छैन । स्पेनमा संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । बिहीबारसम्म ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

तस्बिर : एजेन्सी

Categorized in अन्तर्राष्ट्रिय