स्याङ्जा र पाल्पामा पहिराे, ९ को मृत्यु, ६ जना बेपत्ता
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ८, बिहिबार
काठमाडाैं – अविरल वर्षाकाे कारण स्याङ्जा र पाल्पामा पहिराे गएकाे छ । स्याङ्जाकाे पहिराेमा ९ जनाकाे मृत्यु भएकाे छ भने पाल्पाकाे पहिराेमा ३ घर पुरी ६ जना बेपत्ता भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बिहीबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा ७ महिनाका बालक पनि रहेको प्रहरीले बताएको छ । बच्चाको पहिचान खुलेको छैन ।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।
पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।
यसैगरी पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।
बिहीबार बिहान बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । वडाध्यक्ष उमानसिंह सारुका अनुसार हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् ।
मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले पाँच जना पुरिएको खबर आएको र प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए ।
त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।
Categorized in अपराध-दुर्घटना