हत्याको आरोपमा एक पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २०, शुक्रबार
हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो । “लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ ।” पक्राउ परेका लामाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुन कारोवारी गुरुङ कारागार चलान
गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत गोरखाका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । “थुनछेक बहसपछि थुनामा राखेर कारवाही अघि बढाउन अदालतले दिएको आदेशानुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो”, जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भन्नुभयो ।
केरौँजाका व्यवसायी गुरुङ ओढारमा आफँैले लुकाएर राखेको १६ किलो सुनसहित पक्राउ परेका थिए । सुन लुकाएर आफू अपहरणमा परेका भनी बेपत्ता भएका गुरुङको खोजतलास गर्दा सुन लुकाएर फरार भएको खुल्न आएपछि उनलाई काठमाडाँैबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले बुधबार मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
Categorized in अपराध-दुर्घटना


