हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहीद घोषणा गर्न माग
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २५, बिहिबार
नेपाल शिक्षक महासंघले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारबाही र दिवङ्गत उनलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ ।
अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटी दिएको उक्त पत्रमा हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचीबारे वार्ता गर्नुपर्ने पनि जनाइएको छ ।
यही २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो ।
Categorized in राजनीति

