हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ९, बिहिबार
बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ ग्रीनसिटी परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।
परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना कार्यक्रममा सातभन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसंस्था साझेदारका रूपमा रहेका छन् । अहिले परीक्षणका रुपमा परियोजनाका कार्यक्रम सञ्चालन गरिएको छ । परीक्षण अवधि समाप्त भएपछि परियोजना पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कक्षपतिले बताउनुभयो ।
परियोजना सञ्चालन हुने भएपछि त्यहाँका जनप्रतिनिधि र स्थानीयवासी उत्साहित भएका छन् । “‘हरित खजुरा’ परियोजना हाम्रा लागि ठूलो अवसर र चुनौती दुवै हो, यो परियोजनाले गाउँपालिकाको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ”, स्थानीयविज्ञ पूर्णप्रसाद उपाध्यायले भन्नुभयो ।
परियोजनाअन्तर्गत कृषि, सिँचाइ, विद्युतीकरण, प्रविधिको विकास, उन्नत बीउबिजन, वनजङ्गल संरक्षण, वृक्षरोपणलगायतका विषयवस्तु समेटिएको छ । परियोजनाले खजुरा गाउँपालिकाको गरीबी न्यूनीकरण गर्नुका साथै हरित शहरको विकास गरी गाउँपालिकालाई नमूना शहरमा रूपान्तरण गर्ने अपेक्षा लिइएको छ ।
कक्षपतिका अनुसार, हरित खजुरा परियोजना नेपालमै एउटा नौलो परियोजना हो । परियोजनाले कृषि, पशुपालनलगायत सबै पक्षलाई समेटेको छ । आधुनिक तथा वैज्ञानिकरूपमा खेती गर्नका लागि सिँचाइ, प्रविधि, उन्नत बीउबिजनलगायतका सामग्रीमा अनुदान प्रदान गरिनेछ भने पशुपालनका लागि पनि आवश्यक सामग्री परियोजनाले उपलब्ध गराउनेछ । करीब ५० हजार जनसङ्ख्या रहेको बाँकेको खजुरा गाउँपालिकामा झण्डै ९० प्रतिशत घरधुरी कृषि पेशा, व्यवसायमा आबद्ध छन् । उनीहरु सबैलाई परियोजनाको कार्यक्रमभित्र समेट्ने लक्ष्य तय गरिएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।


