STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाडे रोगको प्रकोप बढ्यो

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण देखियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले विद्यार्थी र शिक्षकमा समेत यसको सङ्क्रमण पाइएको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका शिक्षक सिर्जना राईको भनाइ छ । सल्लेरीको वसन्त बजारसहित जिल्लाको विभिन्न क्षेत्रमा अहिले यसको प्रकोप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय बिरामी स्वास्थ्य चौकी जाने गरेको भए पनि कतिपय बिरामी घरेलु उपचार गराएर बस्ने गरेका छन् । अस्पतालमा पुग्ने अधिकांश बिरामीमध्ये मम्स सङ्क्रमित पनि रहेको जिल्ला अस्पताल फाप्लुका डाक्टर कमला सञ्जेलले बताउनुभयो । उहाँका अनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सङ्क्रमण फैलिएको हो । विद्यार्थीमा अलि धेरै यसको सङ्क्रमण पाइएको छ । सल्लेरीस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलका दर्जनौँ बढी विद्यार्थीमा यो रोग लाग्दा पढाइसमेत प्रभावित हुनेगरेको छ । बिरामी भएपछि कम्तीमा एक हप्ता आराम गर्नुपर्ने हुँदा पढाइ प्रभावित हुने गरेको सोही विद्यालयका शिक्षक दलमाया राईको भनाइ छ । मम्सअर्थात् हाडेरोग लाग्दा मानिसको कञ्चट र गालामा गलगाँठजस्तो आउने, धेरै दुख्ने, ज्वरो आउने, अन्नपानी खान वा निल्न गाह्रो हुने र दुखाइले गर्दा मानिसलाई रातभरि सुत्न नसक्नेलगायतको लक्षण देखिने सोलु अस्पताल फाप्लुका डाक्टर कमला सञ्जेलको भनाइ छ । स्वास्थ्यकर्मीका अनुसार प्रचण्ड गर्मीका समयमा अचानक अत्यधिक चिसो पदार्थ खानाले टन्सिल भएमा, धेरै पटक नुहाउनाले शरीरको भित्री भाग चिसिएमा, श्वासप्रश्वास प्रणालीमा रोकावट आएमा र शरीरमा भिटामिन ‘सी’ को कमी भएमा मानिस हाडे रोगको शिकार हुन पुग्छ । उचित औषधोपचार र रेखदेख गरेपछि पाँच÷सात दिनपछि हाडेरोग नियन्त्रणमा आउने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको लागि कुनै बेग्लै उपचारविधि छैन । यसको असर कम गर्न आराम गर्ने, प्रशस्त झोल पदार्थ पिउने, दुखाइ सहन नसकिए औषधि खाने, मनतातो पानीले सेक्ने वा मुख कुल्ला गर्ने, धेरै चपाउन पर्ने खानेकुरा नखाने, समस्या ठीक नभए वा बल्झिँदै गए स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको सुझाव छ ।
Categorized in राष्ट्रिय