STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ

Janjati Khabar – रासस | २०७७ पौष १९, आइतबार

हुम्ला – हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा परेका छन् ।

लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा समस्या भएको छ ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।

हुम्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गएको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो। हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमीकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमीकोटमा दाउराको माग बढेको छ ।

एक भारी दाउराको सिमीकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमीकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।

Categorized in राष्ट्रिय