STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१८२ जनालाई न्यानो कपडा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । दिपायल सिलगढी नगरपालिका–३ को वडा कार्यालयमा सोमबार कार्यक्रम आयोजना गरी उहाँले वडा नं १, २, ३ र ४ मा रहेका १८२ वृद्ध, एकल, अपाङ्गता तथा असहायलाई न्यानो लुगा वितरण गर्नुभएको हो । नगरपालिकाका सबै वडामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने योजनाअनुसार आफूले उक्त अभियान सञ्चालन गरेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गर्दै आएको छु, नगरपालिकाका सबै वडामा उक्त अभियान सञ्चालन गरिने छ ।” त्यसैगरी उहाँले नगरपालिकाभित्रका सामुदायिकतर्फका सबै विद्यालयका लागि रु एक लाखको विद्यार्थी अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीका लागि सहुलियत होस् भन्ने उद्देश्यले उक्त कोषको स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पढ्न नसक्ने अवस्था भएका तीन बालबालिकाको अभिभावकत्व पनि लिएको छु, आर्थिक अभावमा कसैको पनि पढाइ नछुटोस् भन्ने मेरो सोचाइ हो ।” उहाँले यसअघि दिपायलको सेती नदीमा दृश्यावलोकन स्तम्भ तथा जिल्लाका विभिन्न विद्यालयमा ‘ह्वाइट बोर्ड’ तथा विद्यार्थीलाई झोलासमेत वितरण गर्दै आउनुभएको छ । आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकामा रहेका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने साउद पहिलो व्यक्ति हुनुहुन्छ । कार्यक्रममा चेम्बर अफ कमर्सका सदस्य तथा विष्ट कष्मेटिक तथा फेन्सीका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका १८२ जनालाई कोल्गेट तथा ब्रस वितरण गर्नुभएको थियो । चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि निकै खुशी र राहत मिलेको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ६० वर्षीया गौरी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा ओढ्ने लुगा थिएन, आज पाएँ न्यानो हुने भयो, खुशी छु ।” साउदले कम्बल तथा ब्ल्याङ्केट वितरण गर्नुभएको थियो । विगत सात वर्षयतादेखि चिसो समयमा उहाँले यहाँका ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आउनुभएको छ ।
Categorized in राष्ट्रिय