STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘कतै बाढी त कतै खडेरी’

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । मानो खाएर मुरी उब्जाउने विशेष समयका रुपमा लिइने असार बिदा भइसके पनि पानी नपर्दा रोप्नका लागि तयार गरिएको बीउ छिप्पिएका कारण कृषकहरू चिन्तामा छन् । पोखरा र आसपासका क्षेत्रमा विगतमा सामान्यतः साउन अगावै सम्पूर्ण रोपाइँ सक्ने गरिए पनि यस वर्ष पानीकै अभावमा कतिपय ठाउँमा रोपाइँ हुन नसकेको कृषकहरू बताउँछन् । “विगतका वर्षमा जस्तै असारको पहिलो साता रोपाइँ गर्ने गरी बीउ छरेका थियौँ”, कास्कीको भरतपोखरीका कृषक श्याम लामिछानेले भन्नुभयो, “खै असार सकियोे, बीउ पनि डढिसकेको छ, पानी भने आउँदैन ।” पानी नआएपछि खेत बाँझै हुन्छ कि भन्ने चिन्ता थपिएको बताउँदै उहाँले रोपेका ठाउँमा पनि पानी नपरेका कारण खेत सुक्दै गएको बताउनुभयो । “कतै बाढी त कतै खडेरी, मारमा पर्ने भनेको खेती गरेर खाने कृषक र सर्वसाधारण नै हो”, उहाँले थप्नुभयो । लामिछाने जस्तै यतिखेर धेरै कृषक रोपाइँ गर्न नपाएर चिन्तामा हुनुहुन्छ । जसोतसो रोपिसकेका खेतमा पनि आकाशे पानी नपरेको र मूल नफुटेका कारण रोपो सुक्ने समस्या बढिरहेको कृषकहरूको दुःखेसो छ । गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष हालसम्म सबैभन्दा बढी कास्की र स्याङ्जा जिल्लामा ८० प्रतिशत रोपाइँ भएको छ । कास्की र स्याङ्जामा क्रमशः २६ हजार ५० र १८ हजार ३० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । त्यस्तै सबैभन्दा कम गोरखा जिल्लामा ४५ प्रतिशत मात्र रोपाइँ भएको छ । गोरखामा १७ हजार ७७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । हालसम्म लम्जुङमा र म्याग्दीमा ५५ प्रतिशत रोपाइँ भएको छ । लम्जुङमा १५ हजार ८०४ हेक्टरमा धान रोपिन्छ भने म्याग्दीमा चार हजार हेक्टरमा रोपिन्छ । त्यस्तै तनहुँमा रोपाइँ हुने १९ हजार ४४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकामा जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गण्डकी प्रदेशका नवलपरासी, पर्वत र बाग्लुङमा ७० प्रतिशत रोपाइँ भएको छ । नवलपरासीमा २४ हजार हेक्टर, पर्वतमा नौ हजार ६०५ हेक्टर र बाग्लुङमा छ हजार २० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । प्रदेशअन्तर्गत यहाँका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती खासै गरेको पाइँदैन । गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्ला अत्यधिक पानी पर्ने स्थान भएका कारण अन्यका तुलनामा बढी प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख लोकेन्द्र बोहोराले बताउनुभयो । “यी दुई जिल्लामा आकाशे पानी पनि अन्यका तुलनामा बढी पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “यहाँका केही स्थानमा सिँचाइको सुविधासमेत भएका कारण पूर्णरुपमा आकाशे पानीको भर पर्नु भने पर्दैन ।” कास्कीको कुँडहर फाँट, बिरुवा फाँट, खुदी फाँट, ढुङ्गेपाटन, गगनगांैडालगायतका स्थानमा सिँचाइ सुविधा उपलब्ध छ । कास्कीकै सुरौदी खोलाको पानीका कारण चवादी, वर्षा, कुर्लिङलगायतका स्थानमा सिँचाइ सहज भए पनि बर्सेनी खोलाको धार परिवर्तन हुने र कटान गर्ने समस्या नरोकिएको कृषकहरू बताउँछन् । जिल्लाका लेखनाथ क्षेत्रमा रहेका बेगनास, रुपा, खास्टे, दीपाङ, मैदी, न्युरेनी आदि तालको पानीका कारण आसपासका क्षेत्रमा सिँचाइ सहज भएको छ । पोखराको फेवातालका कारण बिरुवा क्षेत्रको सिँचाइमा निकै सहज भएको छ भने कमलपोखरी तालबाट आसपासका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । कास्कीकै पटनेरी क्षेत्रका अधिकांश खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानी नपरेका कारण मूलहरू नफुट्दा रोपो सुक्ने समस्या थपिएको कृषकहरू बताउँछन् ।
Categorized in राष्ट्रिय