STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

दमौली : प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो । प्लाष्टिकको प्रयोगले मानिसको जनजीवनमा पनि प्रत्यक्ष असर पुर्याइरहेकाले प्लाष्टिकको झोला प्रयोग नगर्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गर्नुका साथै कपडाको झोला नमूनाको रुपमा वितरण गर्ने अभियान शुरु गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । “प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै देशभर यो अभियानले सार्थकता पाउँछ”, बरालले भन्नुभयो, “बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।” बरालका अनुसार घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् । “अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”, बरालले भन्नुभयो । डिभिजन वन कार्यालयले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला वितरण गरेको छ । “तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”, बरालले भन्नुभयो । एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बरालको भनाई छ । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले प्लाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेकाले वातावरण संरक्षणको प्रमुख जिम्मेवारी स्थानीयवासीको भएको बताउनुभयो । व्यास नगरपालिका–४ स्थित विरता कृष्णपुर टोल विकास संस्थाका अध्यक्ष देवीमाया गुरुङले कपडाको झोला प्रबद्र्धनमा डिभिजन वन कार्यालयले चलाएको अभियान सकारात्मक रहेको बताउनुभयो । प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि टोलले पनि सचेतनामूलक अभियान चलाउने र कपडाका झोला प्रयोग गर्न उत्प्रेरणा जगाउने उहाँले बताउनुभयो । ११५ डस्टबिन वितरण डिभिजन वन कार्यालय तनहुँले वातावरण सफा राख्न जिल्लाका विभिन्न टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत कार्यालयले जिल्लाका विभिन्न स्थानका टोल विकास संस्था र केही कार्यालयलाई डस्टबिन वितरण गरेको हो । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार बन्दीपुर गाउँपालिकाका विभिन्न टोल विकास संस्थालाई ६०, व्यास नगरपालिकाका दुई वटा टोल विकास संस्थालाई ४०, शुक्लागण्डकी नगरपालिकाका टोल विकास संस्थालाई १५, म्याग्देका टोल विकास संस्थालाई १० र जिल्लास्थित तीन वटा सरकारी कार्यालयलाई १० वटा डस्टबिन वितरण गरिएको छ । कार्यालयले वितरण गरेको डस्टबिनले टोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
Categorized in राष्ट्रिय