‘कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने’ लालबाबु पण्डित
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो ।
समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उहाँले जायज गुनासो मात्र सम्बोधन हुने धारणा राख्नुभयो । उहाँका अनुसार प्रशासनिक सेवा समूहका अधिकांश गुनासोलाई सम्बोधन गरिसकेको छ । “प्रशासनिकबाहेक अन्य सेवा समूहका गुनासोलाई एक÷एक गरेर अध्ययन गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “कर्मचारी समायोजन ऐनअनुसार नै मिल्ने गरी आएका गुनासोलाई सम्बोधन गरिनेछ ।”
उहाँका अनुसार काम गरिरहेका ठाउँभन्दा धेरै टाढा कर्मचारी समायोजन गरिएका, श्रीमान् श्रीमती फरक ठाउँमा परेका, शारीरिक अपाङ्गता भएका, कडा रोग लागेका कर्मचारीका हकमा निवेदनका आधारमा पुनः समायोजन गरिनेछ । मन्त्री पण्डितले गुनासोमध्ये महिलालाई प्राथमिकतामा राखिने जानकारी गराउनुभयो ।
सरकारले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा करीब एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । उक्त समायोजनप्रति असन्तुष्टि जनाउँदै करीब २० हजार कर्मचारीले पुनरावलोकनका लागि गुनासो व्यवस्थापन समितिमा निवेदन दर्ता गराएका छन् ।
उहाँले जनताका काम सबैभन्दा बढी स्थानीय तहमा हुने भएकाले स्थानीय तहमा पहिला कर्मचारी पदपूर्ति गरिने जानकारी गराउनुभयो । “स्थानीय तहमा रिक्त कर्मचारीको विवरण माग गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले रिक्त विवरण पठाएपछि लोकसेवा आयोगलाई आउने साता विज्ञापनका लागि पत्र पठाइनेछ ।” आगामी आर्थिक वर्षदेखि कर्मचारीको अभावले सेवा प्रवाहमा कठिनाइसमेत नहुने धारणा राख्नुभयो ।
Categorized in राष्ट्रिय


