‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तक विमोचन
Janjati Khabar – Janjati Khabar | २०८१ कार्तिक १६, शुक्रबार
नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ को आयोजनामा नेवार अग्रज मल्ल के. सुन्दरले अभिलेखीकरण गरी लेख्नुभएको ‘नेपाल संवत् व भिंतुना आन्दोलन’ पुस्तक नेपाली भाषामा अनुवाद भएर प्रकाशनमा आएको छ ।
काठमाडौंको नेपाः ब्याङ्क्वेमा शुक्रबार भएको एक कार्यक्रमबीच समारोह समितिका संरक्षक हितकरवीर सिंह कंसाकार, समारोह समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, न्हूदँ राष्ट्रिय संरक्षण समाजका संयोजक प्रा.डा. नरेशमान वज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, नेवार अग्रज डा. पुष्पराज राजकर्णिकारले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली भाषाबाट नेपाल संवत्को आन्दोलनलाई लिएर लेखिएको पुस्तक प्रकाशन भएकोमा समारोह समितिका संरक्षक हितकरवीर सिंह कंसाकारले शुभकामना दिनुभएको थियो । यसैगरी संरक्षक समाजका संयोजक प्रा.डा. नरेशमान वज्राचार्यले ११४४ मै नेपालभाषामा प्रकाशित पुस्तकको सोही वर्षको अन्तमा नेपाली भाषामा प्रकाशन गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा लोककवि राजभाइ जकःमि, हास्यकलाकार गणेश साय्मि, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलगायतका उपस्थिति थियो ।
कार्यक्रममा सहभागीलाई समारोह समितिका सदस्य उमेश स्थापितले स्वागत गर्नुभएको थियो भने नेपाली भाषामा अनुवाद गर्नुहुने राकेश महर्जनलाई लेखक मल्ल के. सुन्दरले खादा ओढाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समारोह समितिले नेपाली भाषामा अनुदित पुस्तकलाई भोलि शनिबार हुने नववर्षको भिन्तुना सभाका प्रमुख अतिथि एवं पाहुनाहरुलाई हस्तान्तरण गरिने र १०० रुपैयाँमा बिक्रीको लागि पनि राखिने जनाएको छ ।


