STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

मुख्यमन्त्री लालबाबु राउतले ‘गोरखापत्र’लाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको छ । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराउनुभयो । अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्तिसम्बन्धि विज्ञानको पर्याय बन्न लागेकाप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पाठकका लागि समयमै समाचार पु¥याउने प्रतिस्पर्धी माध्यम बन्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रका पत्रिकासँग प्रतिस्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्त दुरुस्त र छरितो बनाउन सुझाव दिँदै उहाँले अबको प्राविधिक युगमा प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गर्नुभयो । उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले गोरखापत्रसँग रहेको ऊर्जा र अनुभवलाई पत्रिकामा भरपूर उपयोग गर्न सुझाव दिनुभयो । उहाँले प्रदेश सरकार केन्द्रभन्दा एक कदम अगाडि बढेर प्रेस स्वतन्त्रता दिने पक्षमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले ल्याउन लागेको सञ्चारसम्बन्धी विधेयकमा कुनै समस्या देखिए सञ्चारकर्मीसँग खुला छलफल गर्न तयार रहेको बताउनुभयो । गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र वस्ती, प्रधानसम्पादक श्रीओम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं २ अन्तर्गतका आठवटै जिल्लाका संवाददाताको सहभागिता छ ।
Categorized in राष्ट्रिय