‘लकडाउनको समय गुठीसम्बन्धी समिति गठन संयोगमात्र’
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ११, मंगलबार
काठमाडौं– कोरोना भाइरसको सन्त्रास रहेकै समय विवादित गुठी विधयेकबारे नेवार समुदायको सुझाव लिन भूमिसुधार मन्त्रालयबाट समिति गठन हुनु एक संयोग मात्र भएको समितिका संयोजक जीवनराम श्रेष्ठले बताएका छन् । यस संयोगलाई अन्यथा नलिन पनि प्रदेशसभा सांसद श्रेष्ठले अनुरोध गरेका छन् ।
कोरोना संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’ गरेको समय गुठी सम्बन्धी समिति गठन भएकोमा विभिन्न प्रश्नहरु उब्जिरहेका सन्दर्भमा सांसद श्रेष्ठले स्पष्टिकरण दिएका हुन् ।
गुठी आन्दोलनका अगुवा एवं गुठीयारहरुसँग भएको कुराकानीकै आधारमा समिति गठन भएको र प्रक्रिया पु¥याउँदा पु¥याउँदै अहिलेको समय पर्न आएको श्रेष्ठले बताएका छन् ।
समितिलाई रिपोर्ट बुझाउन एक महिनाको समय दिइएकोमा सन्दर्भमा श्रेष्ठले स्पष्ट गरेका छन्, “समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्र बुझाउनुपर्छ । त्यसैले बैठकअघि नै पटक–पटक अनौपचारिक कुराकानी गरेपछिमात्र औपचारिक माइन्युट बनाउने वा समितिको म्याद नै थप गर्नसक्ने विकल्पहरु रहेका छन् ।”
‘लकडाउन’को प्रतिकूल समयमा गठन भए पनि समितिले अहिले नै आफ्नो काम सुरु नगर्ने पनि श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले भने, “कोरोना सन्त्रास सामान्य भइसकेपछि मात्र समितिले काम सुरु गर्नेछ । समितिले सम्बन्धित गुठीयार र गुठी आन्दोलनका अगुवाहरुसँग छलफल गरेर मात्र प्रतिवेदन तयार गर्नेछ, यसमा कसैले शंका गर्नुपर्दैैन ।”
गुठी संघर्ष समितिका प्रतिनिधि थप्ने अधिकार पनि समितिलाई छ । संघर्ष समितिसँगको छलफलपछि मात्र प्रतिनिधि थपिने सांसद श्रेष्ठले जनाएका छन् ।
Categorized in राष्ट्रिय