वैशाख ३ सम्म लकडाउन थपिने तयारी
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २४, सोमबार
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि लागू गरिएको ‘लकडाउन’ एक साताको लागि थपिने तयारी हुँदैछ ।
आइतबार (चैत २३) गते बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ‘लकडाउन’ ७ दिन थप गर्नको लागि सिफारिस गर्ने निर्णय भएको थियो । यही निर्णय अनुमोदनसहित अन्य विषयमा छलफल गर्न सोमबार (चैत २४) गते दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
यसअघि पनि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिको सिफारिसमा लकडाउन लम्ब्याइएको थियो । पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्म ‘लकडाउन’ गरिएको थयो भने दोस्रो निर्णयानुसार चैत २५ गतेसम्म लकडाउनको अवधि थपिएको थियो । सोमबार मन्त्रिपरिषद्को बैठक बसी वैशाख ३ गतेसम्मको लागि लकडाउनको अवधि थपिने तयारी भएको जनाइएको छ ।
यसअघि शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु लकडाउनलाई कडा रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरिसकेको छ ।
Categorized in राष्ट्रिय