राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १२, सोमबार
काठमाडौं – अब राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्बिर भएको नोट चलनचल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।
तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुनस् सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो ।
सफा नोट नीति कार्यान्यन गराउन भन्दै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो । निर्देशनअनुसार अब बैङ्कले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्नेछ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्नेछ ।
राष्ट्र बैङ्कले वर्गीकरण गरी एटीएम मेसिनलगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लिप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलनचल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रङ्गको स्लिप लगाउनुपर्ने बताएको छ ।
नोटको प्याकेटमा अब बैङ्कको नाम, बैङ्कका कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य राख्न पनि राष्ट्र बैङ्कले भनेको छ ।
झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैङ्कले भनेको छ ।
Categorized in राष्ट्रिय