महानगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना विरुद्ध लड्ने संकल्प
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ४, बिहिबार
विजयरत्न असंबरे -
काठमाडौँ महानगरपालिकाले आज सातौं नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ । काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरको समग्र विकासको योजना अगाडी सारेको छ भने अहिले विश्वव्यापी महामारी को रुप लिएको कोभिड–१९ को विरुद्ध लड्न आवश्यक योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ । ‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’ यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको कुरा सातौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रममा महानगरपालिका को भाषिक नीति , सन्चार नीति तथा आर्थिक नीतिबारे पनि प्रकाश पारिएको थियो । Categorized in उपत्यका


