कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगिहरूको गीत अब यूट्युबमा
Janjati Khabar – Lalendra Shakya | २०७८ कार्तिक २२, सोमबार
ने.सं. ११४२ कछलाथ्व चौथि सोमबार/ऐतिहासिक नगर कीर्तिपुर नगरपालिकाद्वारा आयोजित कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगिहरूको गीत kirtipur singing idol 1142 youtube channel मा अपलोड भइरहेको छ । नेपाल संवत् ११४२ को उपलक्ष्यमा नगरका युवाहरूलाई लक्षित गरी सांगितिक क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले नगरपालिकाले यो प्रतियोगिताको आयोजना गरेको हो । यस प्रतियोगितामा नगरका १९ जना सहभागि भएका छन् भने सहभागिहरूले पठाएको गीतलाई अडिसन राउण्ड अन्तर्गत कीर्तिपुर सिङ्गिङ आइडल –११४२ यूट्युव च्यानलमा अपलोड भइरहेको हो ।
नेपाल संवतको नयाँ वर्ष (म्हपुजा) को दिनदेखि प्रत्येक दिन ३ जना प्रतियोगिको गीत अपलोड गर्ने र अन्तिम दुई दिन २/२ जनाको गीत अपलोड गर्ने आयोजक कीर्तिपुर नगरपालिकाले जनाएको छ । अपलोड भएको गीतलाई सकेसम्म लाइक र शेयर गर्नुहुन समेत आयोजकले अनुरोध गरेको छ ।
प्रतियोगितामा नेपाल भाषा (नेवाः भाय्), खस नेपाली भाषा र तामाङ्ग भाषामध्ये कुनै एक भाषामा सहभागि हुन भनिए तापनि तामाङ्ग भाषाबाट कोही पनि सहभागि भएका छैनन् । प्रतियोगितामा जोन महर्जन (नेपालभाषा), प्रशान्त सुवेदी (खस नेपाली भाषा), यज्जु महर्जन (खस नेपाली भाषा), नसना महर्जन
(नेपालभाषा), सनिश महर्जन (नेपालभाषा), दिवेन वज्राचार्य (खस नेपाली भाषा), रसिक मालाकार (खस नेपाली भाषा), अटुल मानन्धर (खस नेपाली भाषा), संयोग बस्न्यात (खस नेपाली भाषा), निकेश मानन्धर (खस नेपाली भाषा), नफिसा महर्जन (खस नेपाली भाषा), रुपा शाही (नेपालभाषा), रितिशा महर्जन (खस नेपाली भाषा), समृद्धि महर्जन (खस नेपाली भाषा), सुदेश महर्जन (खस नेपाली भाषा), निर्जल महर्जन (खस नेपाली भाषा), कृपा बाँस्कोटा (खस नेपाली भाषा), एकता महर्जन (खस नेपाली भाषा) र स्नेहा नकर्मी (खस नेपाली भाषा) विधामा सहभागि छन् ।
जसमा ११ जना पुरुष र ८ जना महिलाहरूले ४ वटा नेपालभाषा र १५ वटा खस नेपाली गीतसहित सहभागि भएका हुन् ।
यो अडिशन राउण्ड पश्चात उत्कृष्ट दश स्थान (टप टेन) छनौट गरिनेछ भने पछि तालिम पनि दिइनेछ । त्यसपछि अन्तिम चरण (फाइनल राउण्ड) एक प्रत्यक्ष कार्यक्रम गरी समापन गरिनेछ । त्यसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु. पचास हजार, रु. चालिस हजार र रु. तीस हजार सहित प्रमाण पत्र र ट्रफी हस्तान्तरण गर्ने आयोजक कीर्तिपुर नगरपालिकाले जानकारी दिएको छ ।
(यहाँ क्लीक गरेर भिडियो हेर्नुहोला)
Categorized in साहित्य-कला


