नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु
Janjati Khabar – Janjati Khabar | २०७८ पौष ११, आइतबार
११ पुस, काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको छ। महाधिवेशन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रज्ञा प्रतिष्ठान पुगेका छन ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत प्रज्ञा प्रतिष्ठान पुगिसकेका छन। यसअघि राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि माओवादीले अन्तिम समयमा आठौँ महाधिवेशनका रुपमा यसलाई रुपान्तरण गरेको थियो।
माओवादीको महाधिवेशनमा ४५० प्रहरी परिचालन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।
यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
आज अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । “थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ,” परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने ।
भीडभाड कम हुने गरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए ।
राष्ट्रिय सम्मेलनमा अतिथि नआउने आफ्नै पार्टीका नेताहरु मात्रै सहभागी हुने भन्ने थियो, तर महाधिवेशनमा परिणत भएपछि अतितिहरूलाई समेत बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडालिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । तर महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्याइएको छ । उद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाधिवेशनमा झण्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । प्रतिनिधि एक हजार ५३३ र अन्य स्वःस्फूर्त आउने कार्यकर्तालाई पनि रोकावट नभएकाले उनीहरु पनि सहभागी हुन पाउनेछन् ।
यद्यपि प्रज्ञा भवनको क्षमता एक हजार ३६० बस्न सक्ने हो । अन्यका लागि चौरमा बसेर र भवन कै अन्य खुला भागमा बसेर हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । त्यहाँ स्क्रिन र स्पिकर राखिएकाले बाहिर पनि मानिस बस्न सक्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भीडभाडको अवस्था हेरेर सोहीअनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ ।
Categorized in राजनीति

