कमलपोखरी गुरुयोजनाअन्तर्गत अब दोस्रो चरणको काम हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २, बुधबार
राजधानीको एक प्रमुख आकर्षणको रुपमा रहेको कमलपोखरीको संरक्षण सम्पन्न भएपछि बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको छ । कमलपोखरी पुननिर्माण गुरुयोजनाअनुसार २ चरणमा पुननिर्माण हुँदैछ । यसमध्येको पहिलो चरणको काम सकिएपछि आज महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको हो । महानगरको वडा नं. १ मा पर्ने यो पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते उहाँ (मेयर शाक्य) ले शिलान्यास गर्नुभएको थियो ।
पोखरी पुननिर्माण गरी संरक्षण गर्न र सौन्दर्य बढाउने कामका लागि महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरेको थियो । यसका आधारमा गरिएको खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पायो । २०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले ०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोविड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुननिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो ।
पोखरी उद्घाटनपछि बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘हामीले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरेको हौँ । हामीले गरेको काम तपाईका आँखा अगाडि छ । पोखरीमा सबैले स्वामित्व बोध गर्न सक्नुहोस् भन्ने हाम्रो अपेक्षा थियो । यसमा सफल भएको महसुस गरेको बताउनु भएबो छ ।
त्यस क्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, धेरै जग्गा भएका ठाउँमा ठूलो र थोरै जग्गा भएका ठाउँमा सानै भए पनि पार्क बनाउने नीतिअनुरुप पार्क निर्माण भइरहेको बताउनुभयो । कार्यक्रममा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले निर्वाचित भएर आएपछि पोखरीको मर्मतका लागि सानो योजना बनाएकोमा महानगरमा पु¥याएपछि पुननिर्माणको गुरुयोजना बनेको र यसबाट वडाको समृद्धिका लागि गणना हुने सम्पदा थपिएको छ भनि भन्नु भयो ।’
पुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम २ चरणमा हुनेछ भने पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो । दोस्रो चरणमा दक्षिणतर्फ साबिकमा प्रहरी बीट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुल्ला शारीरिक व्यायाम स्थल, व्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । प्रहरी वीट कमलपोखरी पुननिर्माणका क्रममा यहाँबाट स्थानान्तरण गरिएको थियो ।


