गठबन्धनको नाममा कांग्रेस बलजफ्ती : नारायणकाजी श्रेष्ठ
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ७, शनिबार
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसले निरन्तर बलजफ्ती गरेको आरोप लगाएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् नेता श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाएका हुन् । साथै आफूहरुलाई सँधै कांग्रेसको बलजफ्ती स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।
नेता श्रेष्ठले भनेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सँधै स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान बुझोस् । हाम्रो पार्टीले गठबन्धन सकारको नाममा सबै राष्ट्रिय मुद्दााहरुमा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’
प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक बहुमतबाट पारित भएको भोलिपल्ट नै माओवादी नेता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् । जबकि उनको दल माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनका दलहरूले प्रतिनिधिसभाबाट विधेयक पारित गरेका थिए ।
त्यस्तै नेता श्रेष्ठले विधेयक पारित भएकोमा खुसी व्यक्त गरे पनि विधेयकमा व्यवस्था भएको वैवाहिक अंगीकृतले नागरिकता पाउने प्रावधानबारे असहमति जनाएका छन् । साथै यसको प्रक्रियामा पनि असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ ।’
उनले फेरि भनेका छन्, ‘नागरिकता विधेयक प्रतिनिधिसभाले राज्य ब्यवस्था समितिमा पठाएको थियो । समितिले समितिभित्र र बाहिर पनि गम्भीर एवं व्यापक बहस गर्यो । त्यसमा सहमति हुन नसकेपछि बहुमतले वैवाहिक अङ्गीकृत नागरिकता महिलाको हकमा ७ वर्षपछि दिने र तत्कालै सबै ब्यवहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय–पत्र दिने प्रावधान राख्यो । ७ वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदीबहिनीहरुले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशहरुले ७ वर्ष पछि मात्र अङ्गीकृत नागरिकता दिने गरेको ब्यवस्था समेतलाई ध्यान दिएर राखिएको थियो । नेपाली नागरिक महिलाले विदेशी पुरुषसँग विवाह गरेकोमा सम्बन्धित पुरुषलाई भने बैवाहिक अङ्गीकृत नागरिकता दिने ब्यवस्था नै गरिएको छैन ।
Categorized in राजनीति

