नेपालका सङ्गीतकारलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २२, बुधबार
नेपालको गीत संगीत क्षेत्रका चर्चित सङ्गीतकार रोशन वान्तवा राईले ‘बेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो ।
पत्रकारले सोधेको प्रश्नमा उहाँले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताउनुभएको थियो । उहाँले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गर्नुभयो ।
यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उहाँलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उहाँले गीत सङ्गीत मार्फत गरेका कार्यको प्रशंसा गर्नुभयो ।
यस्तै, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीत सङ्गीत मार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गर्नुभनेको सम्पूर्ण नेपाली सङ्गीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत सङ्गीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गर्नुभयो ।
त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसङ्गीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताउनुभयो । सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गर्नु भएको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।
उहाँका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । सङ्गीत विद्यालय खोलेर गति सङ्गीतको श्रीवृद्धिमा निरन्तर लागिरहनुभएका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिनुभएको छ ।
तस्बिर : सुरेन्द्र थापा
Categorized in साहित्य-कला

