STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जात्रामा काम गर्ने सेवक जुटाउन समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गाह्रो पर्न थालेको छ । पहिले सेवक९गुठी भाषामा रकमे भनिन्छ० सँग पर्याप्त समय भए पनि अहिले उनीहरु व्यस्त हुँदा काममा लगाउन गाह्रो पर्न थालेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । ललितपुरका विभिन्न समुदायको सहभागितामा जात्रा हुने गरेको छ । मछिन्द्रनाथको जात्राको तयारीदेखि भोटो देखाउँदासम्म उनीहरुका लागि फरक÷फरक जिम्मेवारी तोकिएको हुन्छ । मछिन्द्रनाथको जात्रामा सहभागी हुने सेवकका लागि गुठीले जग्गा र खान्कीको समेत व्यवस्था गर्ने गर्दछ । बाबुबाजे काम गर्नै नसक्ने वा मृत्यु हुँदा त्यो कामको जिम्मेवारी छोरा, नाति वा आफन्तमा जाने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकले काम नगर्ने हुँदा कसलाई जिम्मेवारी दिने भन्ने खोजी हुने गरेको छ । रातो मछिन्द्रनाथको जात्रा सञ्चालनको तयारीमा कार्यालय वर्षभर नै लाग्ने गरेको पौडेलले बताउनुभयो । जात्राको काम गर्ने समय भएपछि कुन समुदायलाई तोकिएको जिम्मेवारीको काम हो उसलाई फकाएर लगाउने गरिएको छ । अहिले युवापुस्ता व्यस्त हुँदा जात्राका लागि समय दिन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय युवा अध्ययन वा रोजगारीका लागि विदेशमा छन् भने स्वदेशमा हुने युवा पनि व्यस्त छन् । उहाँले भन्नुभयो, “धर्मप्रति आस्था भए पनि पढाइ वा जागिरबाट एक दुई हप्ताको लागि बिदा नपाउने हुँदा उनीहरु काममा लाग्न पाउँदैनन् ।” मछिन्द्रनाथको जात्रामा सहभागी हुने सेवकका लागि विभिन्न आचारसहिंता तोकिएको उहाँले बताउनुभयो । कतिपय सेवकले जात्रा शुरु हुनुभन्दा पहिले वा जात्रा शुरु भएपछि खानपानदेखि धेरै कुरामा शुद्धता अपनाउनुपर्ने पौडेलले बताउनुभयो । मछिन्द्रनाथका पानेजु ९पूजारी० सङ्घका अध्यक्ष यज्ञराज शाक्य मछिन्द्रनाथको सेवकले पालना गर्नुपर्ने नियम सबैका लागि सहज नहुनसक्ने बताउनुभयो । पानेजु १५÷१५ दिनका लागि मन्दिरमा बस्ने गरेका छन् । मन्दिरमा बस्नुभन्दा १५ दिन पहिलेदेखि नै खानेकुरा शुद्ध खानुपर्ने हुन्छ । मन्दिरमा बस्दा बाहिर जान नपाइने हुँदा जागिरेका लागि समस्या भएको उहाँको भनाइ छ । मछिन्द्रनाथको सेवाका लागि पानेजु ३१ जना आवश्यक पर्दछ । रातो मछिन्द्रनाथको सेवा गर्ने सेवकका लागि समयानुकूल पारिश्रमिक बढाउनुपर्ने पाटनका कदमलाल महर्जनले बताउनुभयो । अहिले पारिश्रमिक बढीरहे पनि समयानुकूल नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“कसको कति जिम्मेवारी हुन्छ, त्यसैका आधारमा पारिश्रमिकको व्यवस्था गर्नुपर्छ ।” रातो मछिन्द्रनाथको जात्रामा सेवक सेवा र धर्मका लागि लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई बजार मूल्य अनुसार पारिश्रमिकको पनि व्यवस्था गर्न खाँचो छ । उहाँले भन्नुभयो, “अध्यक्ष कामदारको समेत पारिश्रमिक एक हजारदेखि १२ सयसम्म छ भने सेवकको पनि समय अनुसार बढाउँदै लानुपर्छ ।” वर्षेनी जात्राको जम्मा खर्च पाँचदेखि १० प्रतिशतको हाराहारीमा बढिरहेको शाखाले जनाएको छ । भारतबाट आयात हुने डोरी र बेतसँगै रकमेको ज्याला पनि बढिरहेको शाखाका प्रमुख पौडेलले बताउनुभयो । गत वर्ष ञँवाल र बाराहीको ज्याला १० प्रतिशतले वृद्धि भएको थियो । मछिन्द्रनाथको जात्रा अघिदेखि जात्राको अवधिभर विभिन्न काम गर्नेलाई शाखाले खान्की र पारिश्रमिक दिँदै आएको छ । यहाँको कतिपय रकमेका लागि छुट्याइएको जग्गा पहिले रैकर हुँदा गुठीले उनीहरुलाई खान्की दिने गरेको छ । जग्गा हुने रकमेमध्ये केहीले आफैँ मोहीसँग कुत बुझ्ने गरेका छन् भने कतिले गुठीमार्फत लिन्छन् । जात्रा सञ्चालनका लागि पहिले ललितपुर उपमहानगरपालिकाले रु ५०÷५० हजार सहयोग गर्ने गरेकामा अहिले रु एक लाख दिने गरेको छ ।
Categorized in राष्ट्रिय