STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १०, आइतबार

चितवन - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आउँदो आमनिर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झन्डामुनि एकताबद्ध गरिने बताएका छन् ।

पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत शनिबार (चैत ९) चितवनमा आयोजित जागरणसभामा उनले भने, “वि.सं. २०८४ को निर्वाचनमा माओवादीहरू र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।”

उनले अब आफूहरू ०६४ सालमा हासिल गरेको चुनावी परिणाम पुनः प्राप्त गर्नेतर्फ लागेको, आमजनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने बताए । माओवादी कमजोर हुँदा प्रतिगामी तत्त्व सल्बलाएका उनको तर्क थियो ।

आफूहरू पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उनले बताए । देशको विकासका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेकामा उनले जोड दिए ।

माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको उनले बताए । उनले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोहोर्‍याए ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले युगान्तकारी परिवर्तनका निम्ति आफ्नो पार्टी आवश्यक रहेको बताए । नेपाली जनताको भरोसा माओवादी केन्द्रप्रति रहेको उनको भनाइ थियो ।

पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले देशको विकासका निम्ति सुशासन अपरिहार्य भएको बताइन् ।

माओवादी केन्द्रका सचिव हितमान शाक्य, चितवन इन्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीले अभियानका क्रममा पार्टीका शुभचिन्तक एवं कार्यकर्ताबाट प्राप्त सुझाव अमूल्य रहेको बताए । रासस

Categorized in राजनीति