STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरबास पुग्ने पर्यटकलाई लालीगुराँसले स्वागत

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास ९होमस्टे०ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेका छन् ।  
पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने पाहुनालाई त्यहाँको स्वागत सत्कारले निकै आकर्षित गर्ने गरेको छ । भकुण्डेको वनमा ढपक्कै फुलेको लालीगुराँस फूल टिपेर त्यहाँका स्थानीयले घरबासमा आउने पाहुनालाई स्वागत गर्ने गरेका छन् । 
राष्ट्रिय फूल लालीगुराँसले पर्यटकलाई थप मोहित पार्ने भन्दै चैत वैशाखको महीनामा लालीगुराँसले स्वागत गर्ने गरेको घरबासका सञ्चालक बताउँछन् । जिल्लामै पहिलोपटक २०६८ सालमा घरबासको स्थापना गरेका भकुण्डे गाउँका स्थानीय अहिले घरबासमा आउने पाहुनालाई रिझाउन व्यस्त हुने गरेको अतिथि सत्कार घरबासका सञ्चालक अप्सरा थापा बताउनुहुन्छ । मगर समुदायको बस्ती भएको भकुण्डे गाउँमा मगर समुदायको संस्कृति तथा विभिन्न पर्यटकीयस्थल, मुलाबारी दृश्यावलोकन स्तम्भ, बराह ताल, हीराताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक भकुण्डे आउने गरेका छन् । भकुण्डेमा हाल नौ घरमा घरबास कार्यक्रम सञ्चालन भइरहेको छ ।
 
  “शुरुमा पाहुनालाई कसरी स्वागत सत्कार गर्ने भन्ने ज्ञान थिएन”, थापाले भन्नुभयो, “अहिले घरबास व्यवस्थापनसम्बन्धी तालीम प्राप्त भइसकेपछि धेरै कुराको ज्ञान भयो ।” थापाले मौसमअनुसार फुलेका फूलमध्ये पाहुनाले लालीगुराँस अत्यधिक रुचाउने गरेका कारण वनमा गएर स्वागतका लागि लालीगुराँस ल्याउने गरेको बताउनुभयो । 
 
घरबासमा आउने पाहुनालाई आकर्षित गर्न यहाँका समुदायले भकुण्डे जनजाति सङ्ग्रहालयसमेत स्थापना गरेका छन् । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुद्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा रहेको चार तले पक्की दृश्यावलोकन स्तम्भ निर्माणसँगै घसबासमा बसेर बिहानै सूर्योदय हेर्न आउने पर्यटक वृद्धि हुन थालेको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो ।  
यहाँको स्वागतसँगै स्थानीय खाना, मुला, आलु, सिन्की, मकै, कोदो, भटमासलगायतका स्वादिष्ट परिकारले मनै लोभ्याएको घरबास पुगेका पर्यटक सन्तोष क्षत्रीले बताउनुभयो । पर्यटक स्वागतमा लालीगुराँसको माला तथा बिदाइ लालीगुराँस उपहारस्वरुप प्रदान गरिने अर्का सञ्चालक यामबहादुर थापाले बताउनुभयो । भकुण्डेमा पछिल्लो समय इटाली, न्यूजिल्याण्ड, जापान, अष्ट्रेलिया, कोरियालगायतका देशबाट समेत पर्यटक आउन थालेका छन् । मिलेको भू–बनोट, भकुण्डेबाट देखिने एक दर्जन बढी हिम शृङ्खला, मगर संस्कृति भकुण्डेको पहिचान नै बनेको छ । बागलुङमा पछिल्लो समय घरबास फस्टाउने क्रम जारी रहेको छ । 
जिल्लामा २० भन्दा बढी घरबास सञ्चालनमा आएका छन् । घरबासलाई प्रवद्र्धन गर्न हालै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्लाका १६ घरबासलाई रु १० लाखका दरले अनुदानसमेत प्रदान गरेको छ । घरबासले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेलगत्तै जिल्लामा पर्यटनको सम्भावनामा वृद्धि भएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । 
Categorized in राष्ट्रिय