STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जलजगे नाग साधना पूजा : कीर्तिपुर देवढोकास्थित लक्ष्मी कुवामा

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ भाद्र १७, मंगलबार

कीर्तिपुर नगरपालिका २ वडा देवढोकास्थित न्याम्हासिमा परिसरमा रहेको मल्लकालीन प्राचीन लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवाःमा पानी सुकेको कारण जलजगे नाग साधना पूजा गरिएको छ ।

आज भाद्र १७ गते मंगलबारको दिन कीर्तिपुर २ वडा देवढोका न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी कुवाःमा पानी जम्मा होस् भन्ने कामनाका साथ जलजगे नाग साधना पूजाका निम्ति देवढोकाका स्थानीय नाती महर्जन एवं त्यहाँका अग्रज ज्येष्ठ नागरिकहरुको प्रयासमा उक्त जलजगे नाग साधना पूजा सम्पन्न भएको हो ।

लक्ष्मी कुवामा जलजगे नाग साधना पूजा स्थानीय चिलंच्व महाविहारका पद्म बज्राचार्य गुरुजुले गर्नुभएको हो । न्यामासिमा परिसरमा रहेको लक्ष्मी कुवा २०७२ साल बैशाख महिनाको भूकम्पका कारण जीर्ण भएको जानकारी दिदैं स्थानीयहरुले त्यो बेलादेखि लक्ष्मी कुवाःमा पानी सुक्दै गएको जानकारी दिएको छ ।

२०७२ सालको भूकम्पभन्दा अगाडि उक्त लक्ष्मी कुवामा येथेष्ट मात्रामा पानी भएको र धेरैजसो मानिसहरुले उक्त कुवाको पानी पिउनको लागि प्रयोग गरिने, नुहाउन एवं अन्य प्रयोजनका लागि प्रयोग गर्दै आइरहेको जानकारी पनि स्थानीयले दिएको छ ।

कीर्तिपुर सहर स्थापनाका साथ प्राकृतिक पानीको स्रोतको रुपमा पोखरी, इनार, कुवा अर्थात् बुंगाः एवं ढुंगेधाराहरुको पनि स्थापना गरिएको छ ।

कीर्तिपुर डाँडोका चारैतिर पोखरी, कुवा एवं ढुंगेधाराहरु स्थापना गरिएको छ । केही केही पोखरीहरु हराइसकेको र ती पोखरीहरुमा कीर्तिपुर नगरपालिका, सहीद स्मारक कलेज, विष्णुदेवी अस्पताल लगायत अन्य निजी सम्पत्तिका रुपमा घरहरु तथा अन्य संरचना निर्माण भइसकेकोहालको अवस्थामा ढुंगेधारा एवं कुवाहरु भने अहिलेसम्म पनि रहँदै आएको छ ।

कीर्तिपुर नगरको धार्मिक, सांस्कृतिक परम्परा एवं इतिहाससंग प्रत्यक्ष रुपमा जोडिदै आइरहेको लक्ष्मी कुवा बुंगाः हाल पानी सुक्दै गएको कारण कीर्तिपुरबासीले दुःखदायी गुनासो पोख्दै आइरहेका छन् ।

लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवामा कीर्तिपुरका वीरंगना कीर्तिलक्ष्मीले मुख धुने कुवाः एवं नारीहरुको बच्चा जन्माउने बेला भए पनि जन्माउन नसकिरहेको अवस्थामा उक्त लक्ष्मी कुवामा पानी लिन पठाउने प्रचलन रहेको पनि त्यहाँका स्थानीयहरुले बताएका छन् ।

कीर्तिपुरको उक्त लक्ष्मी बुंगा अर्थात् लक्ष्मी कुवामा गएको ५२ वर्ष अगाडि पनि पानी सुकेको कारण यसरी नै जलगजे नाग साधना पूजा गरिएको गुरुजु पद्म बज्राचार्यले स्मरण गराउनु भयो ।

Categorized in उपत्यका