जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर भन्ने नारा बाेकेर अधिवेशन शुरु
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ६, शुक्रबार
नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख अतिथि र नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतिमा नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।
‘प्राकृतिक स्रोत जल, जंगल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामांकन गर ’ नारासहित महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
सबै वर्ग र समुदायको अधिकारको कार्यान्वयनसँगै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । “आदिवासी जनजातिसहित सबै नेपालीले अब अधिकारको लडाइँभन्दा पनि कर्तव्यको लडाइँ लड्ने बेला आएको छ, मानवताको लागि सबै नेपाली एक हुनुपर्छ, नेपालको समृद्धिका लागि हामी सबै एक हुनुपर्छ” उनले भने । आदिवासी महासंघको काठमाडौंमा भवन निर्माणका लागि बागमती सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघको भवन बनाउने आफ्नो कार्यकालको सपना भए पनि १४ आना जग्गा मात्र जोड्न सकिएको र जाँदाजाँदै थप ५ आना थप जग्गा आफूले खरिद गरी जाने प्रतिवद्धता जनाए । जग्गा व्यवस्था भएपछि भवन निर्माणका लागि सहज हुने उनले बताए ।
आदिवासी अधिकार सम्बोधन गराउनकै लागि महासंघको स्थापना भएको बताउँदै उनले आदिवासी अधिकारका लागि आदिवासी एकताको खाँचो भएको बताए। संविधानले सुनिश्चित गरेको अधिकारको रक्षा गर्दै थप अधिकारका लागि एकतावद्ध रुपमा संघर्ष गर्ने उनले बताए ।
महासंघका संस्थापक महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले महासंघको नेतृत्वमा आदिवासी समुदायले गरेको संघर्षका कारण आज मुलुकमा संघीय व्यवस्था आएको उनले बताए।
इतिहासको गम्भीर मोडमा आदिवसी आन्दोलन आइपुगेको भन्दै आदिवासीको अधिकार सुनिश्चित गर्नमा सरकारले कन्जुस्याइँ गर्न नहुने आदिवासी जनजाति आयोगका सदस्य रामबहादुर थापा मगरले बताए ।
पूर्वमन्त्री सीता गुरुङले राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन आवश्यक रहेको भन्दै राज्यलाई त्यसमा गम्भीर बन्न आग्रह गरिन्। आदिवासीको मातृभाषालाई सरकारी कामकाजी भाषामा रुपान्तरण गर्नुपर्ने, आदिबासीको प्रथा परम्परालाई कानुनी बैद्यता दिनुपर्ने उनले माग गरिन्।
महासंघका महासचिव दिवस राईले भृकुटीमण्डपबाट विहान ११ बजे ५६ जातिय झाँकी र्यालीसहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाकक्षमा भेला भएको बताए ।
राष्ट्रिय सभाकी सदस्य रोशनी मेचेले नेपाल जातीय रुपमा विविधता भएको देश भएकाले सबै जाती, समुदाय र वर्गको अधिकार समान रुपमा सम्बोधनको खाँचो रहेको बताइन् । एकता नै शक्ति भएकाले सबै आदिवासी जनजाति अधिकारको सवालमा एकतावद्ध हुनुपर्ने उनले सुझाव दिइन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी अगुवाहरु दिलमान पाख्रीन, जीतछिरिङ लामा, चन्द्रविक्रम राई, मातृका धिमाल, पेम्बा भोटे गुरुङ, शोभा सुनुवार, बुद्ध घर्ती लगायतले आदिवासीको सवालमा धारणा राखेका थिए ।
कार्यक्रममा विविध जाती समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । महासंघको महाधिवेशनको शुक्रबार बन्दसत्र सुरु हुनेछ । महासंघका महासचिव दिवस राईका अनुसार स्वयम्भुमा शुक्रबार बन्दसत्र सुरु भई २१ सदस्यीय नयाँ कार्य समिति चयन हुनेछ ।
Categorized in सिनेमा

