निफमा नजीर हुसेन र सुरक्षा पन्त उत्कृष्ट घोषित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २३, सोमबार
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयाेजना गरेकाे नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२६ सोमवार सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म तथा कलाकारहरूलाई सम्मान गरिएको छ । यस वर्षको महोत्सवमा नेपाली फिल्मको प्रभावशाली उपस्थिति देखिएको छ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि नेपालले अन्तर्राष्ट्रिय विधामा समेत दर्हिलाे उपस्थिति देखाउन सफल भएको छ ।
अन्तर्राष्ट्रिय तर्फ निर्देशक दीपक रौनियारको ‘राजागञ्जः पूजा सर’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । उक्त फिल्मले ट्रफीसहित १५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । सामाजिक–राजनीतिक विषयवस्तु समेटिएको यो फिल्मले निर्णायकहरूको मन जित्न सफल भएको हो ।
राष्ट्रिय तर्फ पनि समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलोः द ड्रेस’ ले सर्वोत्कृष्ट राष्ट्रिय फिल्मको अवार्ड जितेको छ । फिल्मले ट्रफीसहित १००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो । यही फिल्मबाट भट्टले उत्कृष्ट निर्देशकको अवार्ड पनि हात पारिन्, जसले उनको निर्देशन क्षमतालाई थप पुष्टि गरेको छ ।
अभिनयतर्फ पनि प्रतिस्पर्धा कडा देखिएको थियो । नाजिर हुसेनले ‘गुन्यू चोलो’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते भने सुरक्षा पन्तले ‘कोशेढुङ्गा’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । दुवै कलाकारको अभिनयलाई समीक्षक तथा दर्शकले उच्च मूल्याङ्कन गरेका थिए ।
नेपाली फिल्मले प्राविधिक विधामा पनि उत्कृष्ट प्रदर्शन गरेः
‘केटी हराएको सूचना’ बाट दीपेन्द्र गौचनले सर्वोत्कृष्ट पटकथाकारको अवार्ड पाए । ‘कोशेढुङ्गा’ बाट बाबु श्रेष्ठले उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड जिते ।
दक्षिण एसियाली प्रतिस्पर्धातर्फ नेपाली भाषाको भारतीय फिल्म ‘जार’ उत्कृष्ट घोषित भयो । निर्देशक फुर्वा क्षिरिङ लामाको यो फिल्मले ट्रफीसहित ५०० अमेरिकी डलर प्राप्त गर्यो ।
डकुमेन्ट्रीः ‘ग्राउन्ड बिनिथ आवर फिट’ (आइसल्याण्ड)
सर्ट फिल्मः ‘सिप’ (इरान)
एआई सर्ट फिल्मः ‘स्पिरिट अफ द माउन्टेन’ (चीन)
विद्यार्थी फिल्मः ‘पासारिन्हो’ (मेक्सिको)
राष्ट्रिय सर्ट र डकुमेन्ट्रीमा पनि सम्मान
'होम इज नट अ प्लेस’ (निर्देशक दीपक छोदेन लामा)- सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री
‘रिहाना’ (निर्देशक सुरज पौडेल)- सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म
दुवैलाई ट्रफीसहित ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
विशेष अवार्ड र मेन्सन
डन किहोते अवार्ड (अन्तर्राष्ट्रिय): ‘माई डटर्ज हेयर’ (इरान)
स्पेशल मेन्सन (राष्ट्रिय डकुमेन्ट्री): ‘एज डे गोज बाइ’
स्पेशल मेन्सन (अन्तर्राष्ट्रिय सर्ट): ‘हाउसकिप्पर’ (भारत)
स्पेशल जुरी मेन्सन (अन्तर्राष्ट्रिय फिल्म): ‘द शोर अफ लाइफ’ (चीन)
यस वर्षको निफले नेपाली फिल्म उद्योगको गुणस्तर, विषयवस्तु र प्रस्तुतीकरणमा आएको परिपक्वता झल्काएको छ । ‘गुन्यू चोलो’ को राष्ट्रिय सफलता र ‘राजागञ्ज ’को अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली फिल्मलाई विश्व बजारतर्फ अझ बलियो रूपमा अघि बढाएको संकेत गरेको छ ।
Categorized in सिनेमा

