STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्यामोमाइल खेती आम्दानीको गतिलो स्रोत बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले तीन महीनामै चार कठ्ठा जग्गामा क्यामोमाईल नामक जडीबुटी खेती गरेर रु ५३ हजार रकम आम्दानी गर्नुभएको छ । क्यामोमाइलखेती गरेको जग्गामा अन्न लगाउँदा मुस्किलले रु पाँच हजारदेखि रु सात हजार बराबरको मात्रै उत्पादन हुने गरेको थियो । थोरै समयमा कम मेहनेतमा धेरै आम्दानी हुँदा परिवारको खर्च जुटाउन भारत तर्फ जानुपर्ने दिनको अन्त्य भएको चौधरीले बताउनुभयो । “खेतमै पसिना बगाए चाहेको आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “परिवारको खर्च धान्न मुग्लान पस्नुपर्दैन ।” क्यामोमाइल लगायतको जडीबुटी गरेर यस क्षेत्रका ७० किसानले गतिलो आम्दानी हात पारेका छन् । तीन कठ्ठादेखि दश कठ्ठा जग्गामा बेलडाँडीका किसानले क्यामोमाइल, मेन्था लगायतको खेती गर्दै आएका छन । “गतवर्ष १३ किसानले मात्रै क्यामोमाइल खेती गरेका थिए”, प्रगति महिला जडीबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्मबहादुर खड्काले भन्नुभयो, “क्यामोमाइलबाट मनग्य आम्दानी हुन थालेपछि ७० किसान यस खेतीमा लागेका छन् ।” उहाँका अनुसार गतवर्ष १३ ले चार बिघा जग्गामा आठ किलो ७४० ग्राम क्यामोमाइलको तेल उत्पादन गरेका थिए । सोको बजार मूल्य रु चार लाख ६३ हजार २२० रहेको थियो । यसवर्ष ७० किसानले झण्डै १८ बिघा जग्गामा ३६ किलो क्यामोमाइलको सुगन्धित तेल उत्पादन गरेका छन् । सो तेलको बजार मूल्य प्रति लिटर रु १९ लाख आठ हजार रहेको छ । तेल उत्पादन गरी भण्डार कक्षमा राखेको उल्लेख गर्दै उहाँले खरीद गर्ने व्यापारीको प्रतिक्षामा रहेको जानकारी दिनुभयो । उद्योग समितिले तेलको गुणस्तर जाँचका लागि नमूना काठमाडौँं पठाएको छ । नमूना जाँच भएर आएपछि व्यापारीसँग बिक्री गर्ने समितिका पदाधिकारीले बताउनुभयो । क्यामोमाइल प्रशोधन गर्न समितिले उद्योग प्लान्ट समेत राखेको छ । उद्योगमा दुईजना कर्मचारी कार्यरत छन् । उद्योगको भेसलमा क्यामोमाइल लगायतको जडीबुटी प्रशोधन हुने गरेको छ । प्रति भेसल जडीबुटी प्रशोधन गरेवापत प्राविधिक कर्मचारीलाई किसानले रु चार सयका दरले रकम भुक्तानी गर्ने गरेका छन् । उद्योगमा जडीबुटी प्रशोधनका लागि समितिले दाउराको व्यवस्था गरे आम्दानीको १५ प्रतिशत र दाउरा किसान आफैले ल्याए १० प्रतिशत रकम कट्टा गरी समितिको कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । कोषमा जम्मा गरिएको रकमबाट उद्योगको मर्मत सम्भार र कर्मचारीको तलब व्यहोरिने गरेको छ । जेठको दोस्रो सातादेखि मेन्था प्रशोधनका लागि तयार हुने स्थानीय किसान मीना शाहले बताउनुभयो । गहुँ काटिसकेपछिको खाली खेतमा यहाँका किसानले मेन्थाखेती गर्दै आएका छन् । मेन्था काटेर प्रशोधन गरेपछि त्यही खेतमा धान रोपेर किसानले अतिरिक्त आम्दानी हात पार्दै आएका छन् । मेन्था प्रशोधन गरेपछि नजिकैको सामुदायिक वनमा उम्रिएको असारेका पात प्रशोधन गरेर समेत यस क्षेत्रका किसानले आम्दानी लिँदै आएका छन् । गतवर्ष असारे प्रशोधन गरेर किसानले ३१ किलो तेल उत्पादन गरेका थिए । सो तेल रु एक लाख ४२ हजार ६०० मा बिक्री भएको थियो । यसैगरी, शुक्लाफाँटा–७ जुडाका किसान समेत सुगन्धित तेल क्यामोमाइलको खेतीमा लागेका छन् । क्यामोमाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि किसान खेतीमा संलग्न भएका हुन । यस क्षेत्रका ३० किसानले झण्डै दश बिघा खेतमा क्यामामाइलको खेती गरेका छन् । व्यापारीले किसानले उत्पादन गरेको सुगन्धित तेल भारत, चीन र थाइल्याण्डलगायतका क्षेत्रमा लगेर बिक्री गर्दै आएका छन् । जङ्गली जनाबर र घरपालुवा जनाबरले समेत जडीबुटीका बिरुवालाई नोक्सान नगर्ने भएकाले किसानलाई खेती गर्न सहज भएको छ ।
Categorized in राष्ट्रिय