STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रभावकरी बन्दै लघु उद्यम विकास कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम९मेडेप० पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालीमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका तराई समुदायका महिला अहिले धमाधम सीप सिक्न व्यस्त छन् । श्रीमान्मै निर्भर रहँदै आएका ती महिलाले सीप सिकेर अब आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छन् । रामग्राम–१७ की सरिता यादवले आठ दिनको उद्यमशीलता तालीमपछि अहिले ४५ दिने गुडिया कुशन सीप तालीम लिँदै हुनुहुन्छ । उहाँले यसअघि नै सिलाइ तालीम लिइसक्नु भएको थियो । आफूले सिकेको सीपबाट उद्यम गर्ने सोच बने पनि परम्परा भन्दै घरपरिवारले रोकेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ,“हामी कहिलेसम्म श्रीमानको भरमा बाँच्ने, अब त केही न केही उद्यम गर्छु, हामी महिला कमजोर छैनौँ भन्ने सन्देश यो समाजलाई दिन्छु ।” रामग्राम–१७ कै सीता कँहार पनि अहिले तीन महीने सिलाइ तालीममा व्यस्त हुुनुहुन्छ । “पहिला घरभित्रैको काममा व्यस्त हुन्थ्यो, अहिले त व्यापार कसरी गरिन्छ, कच्चा पदार्थ कहाँबाट ल्याउने, ग्राहकलाई कसरी आकर्षण गर्ने, व्यावसाय कसरी सफल हुन्छ भन्ने जानकारी पनि पाएँ, अब पसल खोलेर म पनि उद्यमी बन्छु” उहाँले भन्नुभयो । पाल्हीनन्दन–१ रमपुरवा गाउँमा सञ्चालन भइरहेको अगरबत्ती बनाउने तालीममा सहभागी निर्मा शर्माले पनि आफूले बनाएको अगरबत्ती देखाउँदै भन्नुभयो, “मैले पनि केही गरेर यो समाजलाई देखाउन सक्छु भन्ने हिम्मत आएको छ, अब श्रीमान्सँग पैसा माग्ने होइन् । मैले कमाएर श्रीमान्लाई दिन्छु भन्ने आँट गरेकी छु ।” चुरा बनाउने तालीममा सहभागी सोही गाउँकी करिष्मा पटेल भन्नुहुन्छ,“मेडेप कार्यक्रमले आफू जस्ता महिलालाई सीप क्षमताको विकास त गरेको छ नै, सशक्तीकरण र शिक्षित पनि बनाएको छु, हामीजस्तै महिला अगाडि बढ्न सकियो भनेमात्रै समाज समृद्ध बन्छ ।” अब महिलालाई उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरण र उचित मूल्य प्राप्तिको वातावरण बनाइदिनुपर्ने उहाँ बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले एकीकृत समाज विकास नेपाल र जनअधिकार सरोकार महासङ्घसँग समन्वय गरी गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम९मेडेप० कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका सात वटा स्थानीय तहमा सञ्चालित यो कार्यक्रमअन्तर्गत सिलाइबुनाइ, हस्तकलाका सामग्री निर्माण, पशुपक्षीपालनलगायत सीपमूलक तालीम प्रदान गरिरहेको कार्यालय प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यो जिल्लाका ३१२ जनालाई यो तालीम प्रदान गरिएको छ । त्यसमध्ये ९० प्रतिशत महिला रहेका छन् । मेडेप कार्यक्रमबाट घरमै सीमित हुन पुगेका ग्रामीण क्षेत्रका धेरै महिलाको आँखा खोलेको भन्दै जिल्ला लघु उद्यमी समूह सङ्घकी अध्यक्ष बुद्धिमाया सुनारले अब व्यावसायिक रुपमा अगाडि बढ्न महिलालाई आग्रह गर्नुहुन्छ । आफू पनि लामो सङ्घर्ष र मेहनतबाट अहिलेको अवस्थामा पुगेको भन्दै उहाँले महिला अब पनि आफूलाई कमजोर ठानेर पछाडि पर्न नहुने बताउनुहुन्छ । लघु उद्यम निःशुल्क दर्ता हुन्छ भने रु पाँच लाखसम्म सहुलियत ब्याजमा ऋण दिने सुविधासमेत सरकारले दिएकाले यो सुविधाको भरपूर लाभ लिनुपर्ने उहाँ बताउनुहुन्छ । तालीमपछि उद्यम गर्नका लागि प्रतिव्यक्ति रु १५ हजारसम्म ऋण अनुदान दिने व्यवस्था पनि सरकारले गरेको छ । मेडेप कार्यक्रमअन्तर्गत विगतका वर्षमा सञ्चालन गरिएका तालीमबाट पनि सीप सिकेर अहिले अधिकांश महिलाले स–सानो व्यवसाय तथा उद्यम गरेर स्वरोजगार बनेका छन् । कतिपयले जागिर पनि दिएका छन् । उनीहरुले आफ्नो जीवनस्तर समेत उकास्न सफल भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय