STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृषि क्षेत्रमा सघाउन इजरायल तयार राजदूत ओमर

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उहाँको भनाइ थियो । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै तालीम केन्द्र नै बनेको प्रसङ्ग निकाल्दै उहाँले भन्नुभयो, “नेपालले आवश्यक ठानेमा हामी यहाँ पनि त्यस्तो तालीम केन्द्र निर्माणका लागि सहयोग गर्न तयार छौँ ।” उहाँले साना किसान बैंकमार्फत हरेक वर्ष ५०० को हाराहारीमा नेपाली कृषिबारे सिक्न इजरायल जाने गरेको बताउनुभयो । इजरायलबाट फर्केकाहरुले कृषि क्षेत्रमा गरेको प्रगति लोभलाग्दो भएको उहाँको भनाइ थियो । उहाँले नेपाली अर्थतन्त्र उकास्न कृषिमा आधुनिकीकरण महत्वपूर्ण हुने सुझाव पनि दिनुभयो । राजदूत ओमरले संसारभर व्यापारको भाषा एउटै हुन्छ भन्दै पोखरा र इजरायलका व्यवसायीबीच सहकार्यको क्षेत्र खोज्न सकिने बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले इजरायलको कृषि र घरेलु क्षेत्रमा काम गरेका नेपालीले त्यहाँबाट फर्केपछि गरेको उन्नतिको चर्चा गर्नुभयो । इजरायलको थोपा सिँचाइको प्रयोग, उत्पादकत्व बढाउन प्रयोग गरिने आधुनिक प्रविधि तथा कठिन श्रमको समिश्रण अनुकरणीय भएको कोइरालाको भनाइ थियो । कार्यक्रममा सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले सानो देश भए पनि इजरायलले गरेको आर्थिक उन्नति सबैका लागि अनुकरणीय भएको बताउनुभयो । प्रजापतिले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यावसायीकरणमा जोड दिँदै आएको पोखरा उद्योग वाणिज्य सङ्घ कृषि क्षेत्रमा इजरायलसँग साझेदारी गर्न तयार रहेको उल्लेख गर्नुभयो । सङ्घका महासचिव अर्जुन पोखरेलले राजदूतको पोखरा भ्रमणसँगै पोखरा उद्योग वाणिज्य सङ्घ र इजरायलबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो ।
Categorized in राष्ट्रिय