STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शुक्लाफाँटामा ताल सुक्न थाले

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार

लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ ।
 
चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो । निकुञ्ज प्रशासनले निकुञ्जभित्र चार दर्जनभन्दा बढी कृत्रिम ताल निर्माण गरी पानीको प्रबन्ध गरे पनि वर्षा नहुँदा पानीको मुहानमै समस्या भएपछि सौर्य प्रणालीबाट पानी तानेर ताल भर्नसमेत समस्या देखिएको छ ।
 
निकुञ्जभित्रको सबैभन्दा ठूलो रानी, बाबा, बठनियाँ लगायतका ताल सुकेका छन् भने चौधर खोलाको पानीको बहाव न्यून छ । बाहुने खोलामा मात्रै पानी बगिरहेको भए पनि निकुञ्जभित्रका सबै वन्यजन्तुका लागि पर्याप्त हुँदैन । “रानी ताल र शुक्लाफाँटाभित्रको घाँसे मैदानमा केही ताल सुकेका छन्”, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भन्नुभयो, “एक÷दुई वटा ताल सुक्दैमा धेरै समस्या भने हुन्न ।” उहाँले रानी तालको जीणोद्धार कार्य भइरहेको बताउनुभयो । 
“सोलारबाट पोखरी भर्ने काम हुँदैछ”, पौड्यालले भन्नुभयो, “अहिले निर्माण भइरहेका पोखरीमा पनि पानी भर्दै जाने हो ।” वन्यजन्तुको बासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालू आर्थिक वर्षमा ६० वटा पोखरी निर्माण गरिरहेको छ ।
 
ताल निर्माणका लागि रु एक करोड २० लाख रकमसमेत केन्द्रबाट विनियोजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । घाँसे मैदान, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुर लगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन् । कूल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विश्वमै सबैभन्दा ठूलो बाह्रसिङ्गाको झुण्ड, पाटे बाघ, गैँडाका साथै विभिन्न प्रकारका जीवजन्तु देख्न पाइन्छ । शुक्लाफाँटामा १७ वटा गैँडा, १६ पाटे बाघ, दुई हजार ३०० को हाराहारीमा बाह्रसिङ्गा र सयौं प्रजातिका सङ्ख्यामा चराचुरुङ्गी रहेका छन् ।
Categorized in राष्ट्रिय